रामेछाप नगरपालिकाभित्र विवादः डेढ महिनादेखि कार्यपालिका बैठक नै प्रभावित



१२ असोज, रामेछाप ।
रामेछाप नगरपालिकाभित्र करारमा कर्मचारी भर्ना गरिएको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ । छ जना कर्मचारीलाई विज्ञापन विना नै भर्ना गरेको भन्दै नेकपाले आपत्ति जनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

कर्मचारी भर्नाको विषयलाई लिएर सुरु भएको विवादले नियमित रुपमा बस्नु पर्ने नगर कार्यपालिकाको बैठक नै प्रभावित बन्न पुगेको छ । नगर कार्यपालिकामा नेकपाका सदस्यहरुको बहुमत रहेको कारण गत साउन २३ गतेदेखि कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन् । २१ सदस्यीय कार्यपालिकामा नेकपाका ११ र नेपाली कांग्रेसका १० जना सदस्य रहेका छन् ।

गत बर्ष नै कोभिड नियन्त्रण र व्यवस्थापन हेर्ने गरी २ जना र चार जना अन्य कर्मचारी गरी छ जना कर्मचारीलाई विना सूचना करारमा नियुक्ति गरेपछि नेकपाकाले नगरप्रमुख नरबहादुर थापामगरलाई तत्काल उक्त निर्णय सच्याउन ध्यानाकर्षण पत्र नै बुझाएको थियो ।

समस्या सामाधानको लागि नगरप्रमुख थापा मगरले नेकपाका नेताहरुसँग बारम्बार छलफल गर्दै आएपनि सहमति जुटन सकेको छैन् । नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतिलाल तामाङले अवैधानिक रुपमा नियुक्त गरेका छ जना करारका कर्मचारीलाई हटाउनु पर्ने माग राखेको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘विधि विपरीतको निर्णय सच्याएर नयाँ प्रक्रियाबाट अगाडि बढनु पर्छ ।’ तर नगरप्रमुख थापा मगरले भने समस्या समाधानको लागि तीन बुँदे विकल्प अगाडि सार्नुभएको छ ।
विज्ञापन विना नै यसअघिका कार्यकारी अधिकृतले कर्मचारी भर्ना गरेको विषयमा आफूलाई पछि मात्र थाहा भएको बताउदै उहाँले नगरपालिकालाई विधि अनुसार अगाडि बढाउन छ जना कर्मचारीलाई हटाउने हो भने अन्य करारका कर्मचारीलाई पनि नयाँ प्रक्रियाबाट भर्ना गर्नुपर्ने  रामेछाप न्युजलाइ बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्