सुनापती गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा
२२ असोज, रामेछाप ।
सुनापती गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारले पाँच शैयाकोे कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय अनुसार गाउँपालिकाकाे वडा नम्बर ४ बेथानमा पाँच शैयाको अस्पताल सञ्चालनमा आएको हो ।
गाउँपालिकाले भौतिक संरचना उपलब्ध भएको बेथानको पिपलडाँडा रहेको स्वास्थ्य चौकीलाई नै अस्पतालको रुपमा सञ्चालन गरेको छ । गाउँपालिकाले अस्पताललाई आवश्यक डाक्टर र नर्स सहितका कर्मचारी करारमा भर्ना गरिसकेको छ । सुनापती गाउँपालिकाकाा प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले तत्कालको लागि पाँच शैयाको अस्पताल बेथानमा सुरु गरिएको बताउनुभयो ।
‘डाक्टर र नर्स भर्ना गरेर स्वास्थ्य सेवा सुरु गरिसकेका छौ’, उहाँले भन्नुभयो,‘आवश्यक भौतिक पूर्वाधार र उपकरणको पनि छिट्टै व्यवस्था गछौं ।’
अस्पतालको गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले, वडा नम्बर ४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङको सहभागीतामा उदघाटन भइसकेको छ ।
बेथानका वडा अध्यक्ष खड्ग घिसिङले गाउँपालिकाको सबै वडालाई पायक पर्ने स्थानमै अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘अब सामान्य उपचार गर्नको लागि राजधानी काठमाडौं जानु पर्दैन, अस्पताललाई आवश्यक पर्ने उपकरण उपलब्ध गराउछौं ।’
गाउँपालिकाले बेथान स्वास्थ्य चौकीमा नै हाल कोरोना संक्रमितहरुलाई बस्ने क्वारेन्टिनको व्यवस्था गरेको छ । हाल बेथानको अस्पतालमा २२ वटा बेड र दुई वटा आइसोलेसन वेड राखिएको छ । वडा अध्यक्ष घिसिङले अस्पताललाई आवश्यक पर्ने एक्सरे र ल्याब छिट्टै सञ्चालनमा ल्याइने रामेछाप न्युजलाई जानकारी दिनुभयो । अहिले डाक्टर, स्टाफ नर्स सहित अस्पतालमा सात जना कर्मचारी रहेका छन् ।