रामेछाप जिल्लामा हालसम्मकै धेरै कोरोना संक्रमित पुष्टि, मन्थली र रामेछाप बजार उच्च जोखिममा
२२ असोज, रामेछाप ।
रामेछाप जिल्लामा हालसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन २० जनालाई कोरोना संक्रमण पुष्टि भएको हाे । जिल्ला अस्पताल रामेछापमा कार्यरत स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । जिल्ला अस्पताल रामेछापमा कार्यरत ४ जना पुरुष र तीन महिलामा कोरानो संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी रामेछाप नगरपालिकाकै तीन जना महिला र तीन जना पुरुमा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै मन्थली नगरपालिकाका ७ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लामा अहिलेसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
उहाँका अनुसार केही दिन अघि जिल्लामा स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको ठूलो संख्यामा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।
हालसम्म रामेछाप जिल्लामा स्वाब संकलन गरेका १ सय १ जना र रामेछाप स्थायी घर भएर काठमाडौं सहित विभिन्न जिल्लामा पिसिआर परीक्षण गराएका १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रामेछापका २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाभित्र कोरोना संक्रमणको बढदै गएपछि जिल्लाको मन्थली बजार र रामेछाप बजार उच्च जोखिममा परेको छ ।