रामेछापमा समुदायमा फैलियो कोरोना, अवस्था जटिल बन्दै



२३ असोज, रामेछाप ।
रामेछाप जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । रामेछाप–काठमाडौं सार्वजनिक यातायात सञ्चालन र सरकारी कार्यालयहरुमा भिडभाड बढेसँगै कोरोना सक्रमण समुदायमा फैलिने क्रम सुरु भएको हो । विहिवार मात्र रामेछाप जिल्लाको जिल्ला अस्पताल, रामेछाप नगरपालिका, मालपोत कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका गरी २० जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सामाजिक दुरी कायम नहुदा, मास्कको प्रयोग नगर्ने परिपाटीको कारण जिल्लाभित्र थप जोखिम देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिृकत भुवन थापा बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘विहिवारबाट कोरोना संक्रमण समुदायमा पुगेको छ, सावधानी नअपनाउदा अवस्था थप जटिल जाने अवस्था देखिएको छ ।’


जिल्लाभित्र गम्भीर खालका बिरामीलाई उपचार गर्ने अस्पताल छैनन् । जिल्लाम अहिलेसम्म भेन्टिलेटर छन् । राजधानी काठमाडौंमा अस्पतालमा कोरोना संक्रमितका बिरामीले भरिसकेका छन् । जिल्लाभित्र कोरोना संक्रमित फैलिदा जादा उपचार नपाउने अवस्था सृजना हुने स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।
जिल्लामा ८ वटा स्थानीय तहमा हालसम्म ४ सय ९० वटा क्वारेन्टाइन वेड र आइसोलेसन बेडको संख्या १ सय ८ वटा रहेको छ । जिल्लाभित्र आइसोलेन वेड तयार गरेपनि आवश्यक स्रोत र साधन भने छैनन् ।

जिल्लाका १७ सय ९४ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएका हालसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको थापाले जानकारी दिनुभयो । कोरोना संक्रमितको संख्या बढेपछि रामेछाप नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी जिल्ला अस्पताल, मातपोत कार्यालय सहित केही बैंकका शाखा समेत बन्द भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले अत्यावश्यक काम बाहेक घरबाट बाहिर नहिडन आग्रह गरेपनि मन्थली, रामेछाप लगायतक जिल्लाको बजार क्षेत्रमा भिडभाड दिनप्रतिदिन बढदै गएकोप्रति स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्