बिजुलीको मिटर जडान गर्न सैपुमा बढी पैसा उठाइयो



२४ असोज, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा बिजुलीको मिटर जडान गर्ने क्रममा ग्राहकसँग बढी पैसा लिइएको पाइएको छ । बिजुलीको मिटर खरिद गर्ने मुल्य भन्दा प्रतिघर ५ सय बढी शुल्क उठाइएको हो । वडा कार्यालयले नै निर्णय गरेर ग्राहकसँग मिटरको लागि पर्ने बाहेक थप शुल्क उठाएको छ । स्थानीयले बिजुलीको मिटरलाई पर्ने २१ सय ७६ रुपैयाँ ८० पैसा तिरेर पनि जडान शुल्क भन्दै थप पाँच सय तिदै आएका छन् । मिटर खरिद सहित २७ रुपैयाँ वडा कार्यालयकै नेतृत्वमा संकलन गरिएको छ ।

तर नेपाल विद्युत प्राधिकरण रामेछापले भने मिटरको लागि पैसा तिर्नुपर्ने भएपनि जडान शुल्क नलाग्ने बताएको छ । सैपुका स्थानीयले मिटर जडान गर्न बढी लिएको पाँच सय रुपैयाँ फिर्ता गर्नुपर्ने माग गर्दै आएको छन् । वडा कार्यालयको नेतृत्वमा सैपुका झण्डै २ सय ८६ घरसँग २ लाख ९३ हजार  रुपैयाँ संकलन गरिएको छ । पाँच एम्पिएरको मिटरलाई विद्युत प्राधिकरणले २१ सय ७६ रुपैयाँ ८० पैसा लिदै आएको छ । सैपुमा जडान गरिएका सबै पाँच एम्पिएरका मिटर हो ।

लिखु तामाकोसी गाउँपालिका–२ सैपुका वडाअध्यक्ष पदम तामाङले मिटर जडान गर्नको लागि प्रतिघर पाँच सय रुपैयाँ थप पैसा उठाइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘मिटर जडान गर्न थप पैसा लाग्ने विषयमा वडाले नीतिगत निर्णय गरेर नै पाँच सय उठाएको छ, केही घरमा मिटर जडान गर्ने काम चलिरहेकाले उठाएको पैसा कसैलाई पनि दिइएको छैन् ।

’ हामीले थप पाँच सय पैसा उठाएको सत्य हो,मिटर जडानको शुल्क लाग्ने अवस्थामा भपाई गरेर मात्र दिन्छौ, पाँच सय शुल्क नलाग्ने अवस्थामा उठाएको पैसा जनतालाई नै फिर्ता गछौं ।’ मिटरको पैसा तिरेपनि जडान गर्न शुल्क नलाग्ने विषयमा तपाईले प्राधिकरणसँग कुरा उठाउनु भएन भन्ने रामेछाप न्युजको जिज्ञासामा अध्यक्ष तामाङले भन्नुभयो,‘तीन बर्षअघिबाट वडाभित्र मिटर जडानको काम अगाडि बढेको थियो, केही ठाउँमा थप पाँच सय तिरेको जानकारी पाएपछि हामीले एकमुष्ट रुपमा सबैसँग हरेक घरबाट पाँच/पाँच सय थप पैसा उठाएका हौ ।’

नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले मिटरको शुल्क बाहेक मिटर लडान गर्न प्राधिकरणले कुनै पनि शुल्क नलिने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘पाँच एम्पियरको मिटरका लागि प्राधिकरणले २१ सय ७६ रुपैयाँ ८० पैसा लिन्छ, जडान पनि यही शुल्कबाट गछौ, अतिरिक्त शुल्क लिने प्रावधान छैन, लिने पनि गरेका छैनौं ।’

उहाँले यदी प्राधिकरणका कर्मचारीले थप शुल्क लिएको अवस्थामा प्रमाण सहित प्राधिकरणमा उजुरी गरे तत्काल कारवाही गरिने बताउनुभयो । ‘प्राधिकरणका कर्मचारीले मिटर जडानको क्रममा थप शुल्क लिन पाउदैनन, यदी कही कतै कसैले लिएको छ भने प्राधिकरणमा प्रमाणसहित उजुरी गर्नुहोस, अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्