काठमाडौंबाट बस चढेर रामेछापको गाउँगाउँ आउदै कोरोना



२६ असोज, रामेछाप ।
काठमाडौं उपत्यकामा कोरोनाभाइरसका संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । पछिल्लो तथ्याङक अनुसार काठमाडौ उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । उपत्यकामा हालसम्म १९२ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या उपत्यकामा बढिरहेका बेला नेपालीहरुको प्रमुख चाड दशै मान्न काठमाडौंबाट रामेछाप आउने क्रम पनि बढेको छ ।
सार्वजनिक यातयात सञ्चालनमा आएसँगै चाडपर्व मनाउन काठमाडौंबाट रामेछापको गाउँगाउँमा नागरिकरु आउने क्रम बढेको छ । जिल्लाकाे प्रमुख नाका सेलेघाटसँगै विभिन्न नाकाबाट दैनिक चार सय भन्दा बढी सवारी साधन जिल्ला भित्र्ने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रहरीका अनुसार केही दिनयता जिल्ला भित्र्ने सार्वजनिक सवारी साधनमा बृद्धि हुँदै गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु बोक्न नदिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सरकारले तोकेको मापदण्ड पालना भए/नभएको हामीले सीमा नाकामा चेकजाँच गर्ने गरेका छौ ।’ सिट क्षमता भन्दा बढी यात्रु बोकेको पाइएमा तत्काल कारवाही गछौं, उहाँले भन्नुभयो ।

पछिल्लो तथ्याङक अनुसार रामेछापको सदरमुकाम मन्थली र रामेछाप बजार उच्च जोखिममा परेको छ । स्वास्थ्य कार्यालय रामेछापले कोरोना समुदायमा पुगिसकेको निष्कर्ष निकालेको छ । केही दिन अघि मात्र जिल्ला अस्पताल, मालपोत कार्यालय रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिकाका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

सुरुको दिनमा गाउँ फर्किनेलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राखिने गरेपनि अहिले हरेक नागरिकहरु बस चढेर सिधै आफ्नो घरमा गएर बस्ने गरेका छन् । सार्वजनिक यातायातमा कोरोना संक्रमण हुने जोखिम उच्च हुने हुँदा पनि नागरिकहरु सिधै घरमा गएर बस्ने मात्र होइन, गाउँ आएका नागरिकरु निधक्क भएर छरछिमेक र गाउँमा समेत डुल्ने गरेका छन् ।

चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तहरूसँग भेटघाट बढी हुने गरेको छ । काठमाडौंमा रहेका आइसोलेशन वार्डहरू भरिँदै गएको छ । सरकारले जारी गरेका मापदण्ड पालना गरेर अघि बढ्नुपर्ने अवस्थामा मन्थली, रामेछाप साँघुटार लगायतका बजार क्षेत्रमा भिडभाड हुने क्रम पनि बढेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले बारम्बार सूचना जारी गरेर स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेपनि नागरिकहरुले अटेर गर्दै आएका छन् । सामाजिक दुरी कायम नहुनु, मास्क नलगाउनु र रामेछाप–काठमाडौं सार्वजनिक सवारी साधन चलेसँग जिल्लाभित्र कोरोना संक्रमण फैलिएको निष्कर्ष जिप्रका रामेछापले निकालेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकहरुबाट स्वास्थ्य मापदण्ड पालना नहुँदा जिल्लाभित्र कोरोनाको जोखिम बढदै गएको बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘तत्काल निषेधाज्ञा जारी गर्ने सोचमा छैनौ, यतिबेला नागरिकहरु स्वयंम नै जिम्मेवार बन्नुपर्छ, जिल्लाभित्र सम्भावित कोरोनाको जोखिम हुनबाट रोक्नु पर्छ ।’

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले हालसम्म हाल जिल्लाभित्र १५ सय ८२ जनाको स्वाब संकलन गरेर परीक्षण गराएको मध्ये जिल्लामा १ सय ३ जना कोरोना संक्रमित पुष्टि भएको बताउनुभयो । अझै १ सय ७५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको बताउदै स्वास्थ्य मापदण्ड पालना नहुँदा जिल्लामा कोरोना संक्रमण फैलिन सक्ने जोखिम उच्च रहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
HsFdxOeXOV4Ib, B0rPqe939PsdapJ0, ALnIEMUnbadPndVR, 3iyHGteu, HXgT0eAQA, 06sa7ZCTdf3, 6C8lVNhJY04Z2, By5xsZ6gSGyq, WG7GGvnY, KfqdsY