रामेछापमा यस बर्ष थप ५० किलोमिटर सडक कालोपत्रे हुने



३ कात्तिक, रामेछाप ।
यस आर्थिक बर्षमा रामेछाप जिल्लाभित्र थप ५० किलोमिटर सडक कालोपत्रे हुने भएको छ । कोरोनाको महामारीको बीचमा पनि रामेछाप जिल्लाभित्र सडक निर्माणको काम धमाधम अगाडि बढेको छ । लकडाउनको कारण केही प्रभावित भएका सडक निर्माणको कामले पुनः गति लिएको छ । बागमती प्रदेश सरकारले जिल्लाको मुख्य सडकलाई कालोपत्रे गर्ने काम अगाडि बढाएको हो ।

सदरमुकाम मन्थलीदेखि गाउँपालिकासँग जोडने मुख्य सडक कालोपत्रे गर्ने काम दुई बर्षअघिबाट सुरु भएको थियो । गत बर्ष लकडाउनको कारण अपेक्षा अनुसार कालोपत्रे हुन नसकेपनि अहिले कालोपत्रेको काम अगाडि बढेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा जिल्लाभित्रका मुख्य सडक कालोपत्रे गर्ने काम अगाडि बढेको हो ।

कलडाउनको कारण रोकिएको सडक निर्माणको काम अहिले तीब्र गतिमा अगाडि बढेको पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिमिल्सिनाले बताउनुभयो । ‘स्वास्थ्य मापदण्ड पालना गरेर निर्माण व्यवसायीहरुले धमाधम काम गरिरहेका छन, सडकलाई गुणस्तरीय रुपमा निर्माण गर्न हामीले निरन्तर अनुगमन गरिरहेका छौ’,उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘कोरोना महामारीकै बीचमा पनि सडक निर्माणको काम आशा लाग्दो ढंगले अगाडि बढेको छ ।’

बागमती प्रदेश सरकारले हाल जिल्लाभित्र तीन दर्जन सडक योजनाको काम अगाडि बढाएको छ । तिमिल्सिनाको अनुसार यस बर्ष सित्खा–गोगनपानी भोटनागी सडक अन्तर्गत १० किलोमिटर, मन्थली–राल्टार ८ किलोमिटर,मन्थली गोकनपानी १६ किलोमिटर, खिम्ती बेताली रस्नालु १० किलोमिटर, कालोचौचारो प्रिति ६ किलोमिटर सडक यस बर्ष कालोपत्रे हुनेछ । रामेछाप जिल्लाभित्र हालसम्म झण्डै चार हजार किलोमिटर सडक निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्