रामेछाप जिल्लामै पहिलो एकीकृत नमूना बस्ती बन्यो (फोटोफिचर)



११ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक एकीकृत नमूना बस्ती निर्माणको काम सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डब्खाको माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माण भएको हो । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमुनाबस्ती बन्नेको छ ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाको पहलमा रामेछापमा पहिलो नमूना बस्ती ठडिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले एकीकृत पर्यटकीय बस्ती निर्माणसँगै डब्खाका सीमान्कृत माझी समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो । उहाँले एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरेर आर्थिक उपार्जन गर्न सकिने बताउदै एकीकृत वस्ती विकासको अवधारणलाई आगामी दिनमा जोड दिनुपर्ने बताउनुभयो ।

बस्ती निर्माणका लागि गाउँपालिकाले ७५ लाख र बागमती प्रदेश सरकारले डेढ करोड विनियोजन गरेको थियो । खाँडदेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जिल्लामै पहिलो एकीकृत नमूना बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको रामेछाप न्युजलाई बताउनुभयो । कृषि र पर्यटन क्षेत्रको विकासको लागि गाउँपालिकाले अगाडि सारेको कार्यक्रमलाई प्रदेश सरकारले सहयोग गरेकै कारण छोटो समयमा बस्ती निर्माण गर्न सफल भएको बताउनुभयो ।

‘४२ वटा घर निर्माण भइसकेको छ, अब छिट्टै उदघाटन गछौ, बाँकी भौतिक पूर्वाधार निर्माणको कामलाई पनि अगाडि बढाउछौ’, अध्यक्ष तामाङले भन्नुभयो,‘गाउँपालिकाले अगाडि सारेको एकीकृत वस्ती निर्माणको योजना पूरा भएको छ ।’

तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि लकडाउनको कारण काम केही प्रभावित हुँदा निर्माणको समय लम्बिएको थियो । निर्माणाधिन मध्यपहाडी मार्गका कारण सुनकोसी किनारको माझी बस्तीको आर्थिक उन्नतिको आधार तयार हुने विश्वास गाउँपालिकाले लिएको छ ।

खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले नमूना बस्तीलाई माझी संस्कृतिको पर्यटकीय थलोको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । बस्ती ठडिएको छ, अब वस्तीलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास गर्छौ, उहाँले भन्नुभयो ।

एकीकृत बस्तीमा हाल ४२ वटा २ कोठे घर निर्माण भएका छन् । बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए । बस्तीभित्र ४२ वटा घरहरुका साथै चिल्डेनपार्क, टावर,सभा हल, स्विमिङ पुल लगायतका पूर्वाधार निर्माण हुनेछ ।
डब्खा एकीकृत नमूना बस्तीको आर्थिक मन्त्री कैलाश ढुंगेल, कृषि मन्त्री दावा दोर्जे लामा, बागमती प्रदेशका सांसद शान्ति पौडेल, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले स्थलगत अनुगमन समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्