सैलुङ्गमा आन्तरिक पर्यटकको पहलपहल बढयो (फोटोफिचर)



१४ कात्तिक, रामेछाप ।
पर्यटकीय क्षेत्र सैलुङ्गमा आन्तरिक पर्यटकहरुको संख्या बढेको छ । लकडाउनको कारण केही समय सुनसानजस्तै रहेको सैलुङ्गमा हाल आन्तरिक पर्यटकहरुको संख्यामा दिनप्रतिदिन बृद्धि भएको छ ।

रामेछाप र दोलखाको सीमानामा अवस्थित सैलुङ्ग क्षेत्रमा हाल दैनिक दुई सय भन्दा बढी पर्यटकहरु आउने गरेका छन् । राजधानी काठमाडौंबाट नजिकै पर्ने भएकाले पनि केहीदिन यता आन्तरिक पर्यटकहरु आउने क्रम बढेको दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले बताउनुभयो । उहाँका अनुसार बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

सैलुङ्गमा विशेषगरी प्राकृतिक सुन्दरताको अवलोकन गर्ने आन्तरिक पर्यटकहरु पछिल्लो समयमा आर्कषित हुँदै आएका छन् । दोरम्बा गाउँपालिकाले सैलुङ्ग क्षेत्रको विकासको लागि योजना अगाडि बढाएको छ । सैलुङ्गमा हाल पर्यटकहरु डाँडामा जानको लागि सिढी र दृष्य अवलोकन गर्न दुई बर्ष अघि भ्युटावर निर्माणको काम भइसकेको छ ।

गत बर्ष आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आर्कषण गर्नको लागि दोरम्बा गाउँपालिकाले पर्यटन एवं सास्कृति महोत्सव समेत गरेको थियो । हाल सैलुङ्ग घुम्न आउने पर्यटकहरुको लागि खोलाखर्क, राजभीर र दोरम्बामा साना ठूलो होटल र होमस्टे सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्