१ अर्ब ६४ करोडमा सेलेघाट–सालु देउराली–साँघुटार सडक कालोपत्रे हुँदै
१७ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लाभित्रको रणनैतिक सडक अन्तर्गत रहेको सेलेघाट–सालु देउराली हुँदै साँघुटारसम्म जोडने सडक कालोपत्रे हुने भएको छ । सडक विभागले सडक निर्माणको लागि भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।
झण्डै पचास किलोमिटर सडक निर्माण गर्न विभागले १ अर्ब ६४ करोडमा ठेक्का सम्झौता गरेको छ । सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा २ अर्ब ६ करोड लागत लाग्ने उल्लेख गरिए पनि ग्लोबल टेन्डरमा घटाघट हुँदा १ अर्ब ६४ करोडमा ठेक्का सम्झौता गरिएको सडक विभागले बताएको छ ।
उक्त सडकले रामेछापको मन्थली नगरपालिकाको वडा नम्बर ४ र ६ हुँदै रामेछाप नगरपालिकाको २, ३, ७, ८ र ९ नम्बर वडा हुँदै साँघुटार जोडिनेछ । रामेछाप जिल्लाभित्र निर्माणाधिन मध्ये यो सडक ठूलो आयोजना हो । गत बर्ष नै ठेक्का आह्वान भएपनि केही प्राविधिक कारणले सम्झौता गर्न ढिलाई भएको थियो ।
नाला सहित सात मिटर चौडाई रहने सडक आगामी दुई बर्षभित्र सम्पन्न सम्झौतामा उल्लेख गरिएको छ । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार सेलेघाट–साँघुटार सडकको कालोपत्रेको काम अगाडि बढन लागेको रामेछाप न्युजलाई बताउनुभयो ।
उहाँले भन्नुभयो,‘जिल्लाका ठूलो आयोजना हो, यो सडक कालोपत्रे भएपछि रामेछापलाई मात्र नभई ओखलढुंगा जिल्लालाई समेत ठूले फाइदा हुन्छ ।’ निकै ठूलो मेहनतबाट सडक कालोपत्रेको काम अगाडि बढाउन सफल भएको बताउदै सांसद श्रेष्ठले समयसीमा भित्र नै काम सम्पन्न गराउन आफूले ध्यान दिने बताउनुभयो ।
रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापामगरले सेलेघाट–सालु देउराली–साँघुटार सडक कालोपत्रे हुनु नगरपालिकावासीलाई निकै ठूलो खुसीको विषय भएको रामेछाप न्युजलाई बताउनुभयो । सडक निर्माणको क्रममा स्थानीय सरकारले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङले नगरपालिकाभित्रका अधिकाशं वडालाई सुविधा हुने गरी सडक निर्माण हुनु नगरपालिकावासीको लागि खुसीको विषय भएको बताउनुभयो । गत बर्षबाटै सुरु हुनुपर्ने भएपनि केही ढिलाई भएको बताउदै यस सडक निर्माण सम्पन्न भएपछि स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुलाई बजारसम्म पुर्याउन निकै सहज हुने तामाङले बताउनुभयो ।
(यसअघि प्रकाशित समाचारमा प्राविधिक कारणले अन्यत्रकै फोटो प्रयोग भएकोमा सच्याइएको छ–सम्पादक)