कुनै पनि हातलमा नेकपा फुटदैनः मन्त्री ढुंगेल
२२ कात्तिक, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पार्टी कुनै पनि हातलमा विभाजन नहुने बताउनुभएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री ढुंगेले पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधान गरेर अगाडि बढनुको अर्को विकल्प नभएको बताउनुभएको हो ।
‘पार्टीभित्र मिल्नै नसकिने खालको विवाद छैन,सरकारको कामलाई पार्टीले अनावश्यक रुपमा हस्तक्षप गर्नु हुँदैन’, मन्त्री ढुंगेलले रामेछाप न्युजसँग भन्नुभयो,‘अहिलेको अवस्थामा पार्टी विभाजनको कल्पनासम्म गर्न सकिदैन ।’ पार्टीभित्र विचार र सिद्धान्तको विवाद नरहेको बताउदै उहाँले पद बाँडफाँडको विषयमा शीर्ष नेताहरु मिल्दा विवाद समाधान हुने बताउनुभयो ।
जारी विवादलाई लम्ब्याउने भन्दा पनि शीर्ष नेतृत्वले देश जनता र कार्यकर्ताको चाहना अनुसार समाधान गरेर अगाडि बढनु पर्नेमा जोड दिदै मन्त्री ढुंगेलले सरकारलाई असफल बनाएर पार्टी सफल हुन नसक्ने बताउनुभयो ।
सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टीभित्रैबाट सरकारले केही पनि काम नगरेकोजस्तो प्रचार हुने गरी विवाद झिक्नु सान्दर्भिक नभएको बताउदै उहाँले सरकारले गरेको राम्रो काम जनताको बीचमा पु¥याउन पार्टीले थप भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
कुनै पनि हालतमा पार्टी नफुट्ने बताउदै मन्त्री ढुंगेलले पार्टीको समस्या शीर्ष नेतृत्वले समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक स्थायित्व कायम गरी मुलुकमा सुशासन र समृद्धि प्राप्त गर्ने आधारमा भएको एकता कसैले चाहँदैमा विभाजन हुन नसक्ने उहाँको भनाई थियो ।