रामेछापका सिडियो शर्माको उदाहरणीय कामः उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरीको अब निशुल्क उद्दार
२३ कात्तिक, काठमाडौं ।
सरकारले रामेछापको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकाभित्र उपचार हुन नसक्ने गर्भवती र सुत्केरी महिलाको निशुल्क रुपमा उद्दार गर्ने भएको छ । महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको पनि निुशल्क उद्दार गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाबाट गर्भवती र सुत्केरी महिलालाई अस्पताल पुर्याउन भौगोलिक हिसाबमा टाढा भएको कारण अकालमै ज्यान गुमाउन नपरोस भनेर रामेछापका प्रमुख जिल्ला अधिकारीले निशुल्क उद्दार गर्न महिला तथा बालबालिका मन्त्रालयमा पत्राचार गर्नुभएको थियो । उमाकुण्ड गाउँपालिकाको माग अनुसार प्रजिअ शर्माले गरेको सिफारिस अनुसार मन्त्रालयले अबदेखि जिल्लाको उमाकुण्ड गाउँपालिकाभित्र उपचार हुन नसक्ने गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टर मार्फत निशुल्क उद्दार गर्ने भएको छ ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार अबदेखि गाउँपालिकाभित्र उपचार हुन नसक्ने गर्भवती र सुत्केरीको निशुल्क रुपमा हेलिकोप्टरबाट उद्दार हुने रामेछाप न्युजलाई बताउनुभयो ।
अब गाउँपालिकाभित्र गर्भवती र सुत्केरीको उपचार हुन नसकेको अवस्थामा महिला मन्त्रालय र गृह मन्त्रालयमा सिधै सम्पर्क गरेर उद्धार गर्न सकिने भएको छ ।
रामेछापका प्रजिअ शर्माले जिल्लाको नेतृत्व सम्हाले लगत्तै जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकाको बारेमा चासो राख्दै आउनुभएको थियो । रामेछाप जानु अधि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा शर्माले महिला शसक्तिकरण महाशाखाको प्रमुख भएर काम गर्नुभएको थियो । मन्त्रालयमा रहदा देशभरबाट सुत्केरी र गर्भवती महिलाहरुको उद्दारको लागि काम गर्नुभएका शर्माले जिल्लाको उमाकुण्ड गाउँपालिकाका महिलाहरुको लागि ठूलो गुण लगाउने निर्णय गराउन सफल हुनुभएको छ ।
‘समयमा नै उपचार हुन नपाएर गर्भवती र सुत्केरीको ज्यान नजाओस’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘उद्दारलाई प्रभावकारी बनाउन स्थानीय तहमा रहने सिफारिस गठन हुन्छ, समितिले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा सिधै सम्पर्क गर्न सक्छ, अब उमाकुण्ड गाउँपालिकाकाभित्र उपचाार हुन नसक्ने गर्भवती र सुत्केरीको तत्काल उद्दार हुन्छ ।’
सरकारले केही बर्षयता गर्भवती र सुत्केरी महिलाको उद्दार गर्न राष्ट्रिपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्दै आएको छ । कर्णाली प्रदेशमा सञ्चिालित कार्यक्रम रामेछापको उमाकुण्ड गाउँपालिकामा पनि सुरु हुने भएको छ । निशुल्क उद्दार गर्ने स्थानीय तहमा गठन हुने समितिमा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालयको प्रमुख, प्रहरी सहित रहने व्यवस्था रहेको छ । यसअघि उमाकुण्ड गाउँपालिकाभित्र उपचार गराउन महंगोमा हेलिकोप्टर चार्टर गरेर राजधानी काठमाडौं लैजाने गरिएको थियो ।