नामाडी कुटपिट घटनाः मुद्दा दर्ता गरेकोप्रति तरुण दल रामेछापको आपत्ति (विज्ञप्तीसहित)



४ मंसिर, रामेछाप ।
गोकुलगंगा गाउँपालिका–५नामाडीमा भएको कुटपिटको घटनामा संलग्न भएको भन्दै तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्कासहित तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएकोप्रति तरुण दल रामेछापले आपत्ति जनाएको छ ।
नेपाल तरुण दल रामेछापले मंगलबार नामाडीमा भएको घटनाक्रमलाई राजनीतिक पूर्वग्राही राखेर घटनालाई तोडमोड गरिएको निष्कर्ष निकालेको हो ।
बिहिबार नेपाल तरुण दल रामेछापले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनालाई तोडमोड गर्दै जिल्ला अध्यक्ष काजी बहादुर खड्का, दीपक खडका र निरज खडकामाथि जल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने कसुर अन्तरर्गत मुद्दा दर्ता गरिएको प्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्यसमितिको गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

नेपाल तरुण दल रामेछापका उपाध्यक्ष बासुदेव फुयाल र सचिव बिश्वराज कोइरालाद्धारा हस्तक्षरित बिज्ञप्तीमा काजीबहादुर खडका सहितका व्यक्तिमाथि ज्यान मार्ने कसुर अन्तरर्गत मुद्दा दर्ता गरिएको प्रति ध्यानकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ,‘कानुन भन्दा माथि कोही छैन् भन्ने कुराको पूर्ण आभाष हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ र सत्यतथ्य छानविन होस दोषी उपर कार्वाही होस र निर्दोष व्यक्तिलाई फसाउने तवरले तानाबाना नबुनियोस भनि जोडदार माग गर्दछौँ ।’

काजीबहादुर खडकासहितको समुहले कुटपिट गरेको भन्दै पीडित देवराज खडकाले तरुण दलका अध्यक्ष खडका, दीपक खडका र निरज खडकाको विरुद्ध बुधवार जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दर्ता गराएका थिए । खडकाले जाहेरी दर्ता गरेसँग प्रहरीले घटनास्थल स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले किटानी जाहेरी दर्ता भएसँगै तीनै जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने गृहकार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्