नामाडी घटनामा नेकपाकै कार्यकर्ता संलग्न छनः सभापति न्यौपाने



६ मंसिर, रामेछाप ।
नामाडीमा कुटपिटको घटनामा तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खडकासहित तीन जना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेपछि नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानीले आपत्ति जनाएका छन् । उनले कुटपिटको घटनामा तरुण दल खडकासहित तीनै जनाको संलग्नता नभएको दावी गरेका हुन् ।
सभापति न्यौपानेले काजीबहादुरले देवराज खडकालाई नकुटेको बताउदै कुटपिट गर्ने व्यक्तिलाई कारवाही गर्न माग गरेका छन् । उनले रामेछाप न्युजसँग भने,‘कुटपिटको घटनामा नेकपाकै कार्यकर्ता संलग्न छन, काजीबहादुरले कुटेकै छैन,देवराज खडकाले निहुँ खोज्दा कुटपिट भएको सुन्नमा आएको छ, नियोजित रुपमा किटानी जाहेर गरेर फसाउने काम भएको छ ।’

सभापति न्यौपानेले कुटपिट गर्ने जो कोही भएपनि कारवाही गर्नुपर्ने पक्षमा आफू रहेको बताउदै देवराज खडकालाई जबरजस्ती उचालेर खडका विरुद्ध जाहेरी दिन लगाएको आरोप लगाएका छन् । घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ, कुटपिटबाट मानिस घाइते भएको छ, काजीबहादुरले कुटपिट गरेकै छैन, हातपात गरेकै छैन, प्रशासनको मिलेमतोमा कांग्रेसलाई फसाउने खेल भइरहेको छ, उनले भने ।

कुटपिटबाट घाइते भएका देवराज खडकाले तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खडका, गिरीजाप्रसाद कोइराला फाउण्डेसन रामेछापका अध्यक्ष दीपक खडका र निरज खडकाको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने उद्योग अन्तर्गत किटानी जाहेरी दर्ता गराएका छन् । किटानी जाहेरीको आधारमा प्रहरीले तीनै जना विरुद्ध पक्राउ पुर्जी जारी गरेर खोजी कार्य सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्