गुण्डागर्दी राज चल्दैन, नेकपाले प्रतिवाद गर्छः सचिव पौडेल



६ मंसिर, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापका सचिव शान्ति पौडेलले नामाडी घटनामा देखिएको गुण्डागर्दीको विरुद्ध पार्टीले प्रतिवाद गर्ने बताएका छन् । तरुण दलको आडमा जिल्लाभित्र गुण्डागर्दी राज चल्न नदिने चेतावनी दिदै सचिव पौडेलले समाजमा अराजकता मच्चाउने समुहलाई कानुनी कठहरामा उभ्याउनु पर्ने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै प्रदेश सांसद समेत रहेका सचिव पौडेलले भने,‘नामाडीमा तरुण दलका अध्यक्ष काजीबहादुर खडकाको समुहले देखाएको उदण्डता निकृष्ट काम हो,भौतिक आक्रमणमा उत्रिने गुण्डागर्दी राज अब चल्दैन ।’
विगतमा पनि काजीबहादुर खडकाले समाजमा गुण्डागर्दी मच्चकाउदै आएको नजिर रहेको बताउदै पौडेलले गुण्डागर्दी गरेर विकास निर्माणको काममा हस्तक्षप गर्ने कार्य स्वीकार्य नहुने बताए ।

‘राजनीतिक रुपमा प्रतिस्पर्धामा आउने आँट गर्नेले मात्र राजनीति गर्नुपर्छ, गुण्डागर्दी गर्ने, दादागिरी देखाउने समाजमा अराजकता मच्चकाउन काजीबहादुर खडकाको समुहले राजनीतिकको खोल ओढेको देखिन्छ’, उनले भने,‘खुलेआम गुण्डागर्दीको विरुद्ध सरकार मुकदर्शक भएर बस्दैन, नेकपाले पनि टुलुटुलु हेरेर बस्दैन, प्रतिवाद गर्छ ।’

काजीबहादुर खडकाको समुहले केही दिन अघि कुटपिट गरेर घाइते बनाएको भन्दै देवराज खडकाले तरुण दल रामेछापका अध्यक्ष देवराज खडका, दीपक खडका र निरज खडकोको विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराएका छन् । उक्त जाहेरी दर्ता गरेपछि कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, तरुण दल रामेछापले विज्ञप्ती निकालेर सुनियोजित रुपमा आफ्ना कार्यकर्ता फसाउने खेल भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्