रामेछापको चार गाउँपालिकामा एक साथ अस्पतालको शिलान्यास हुँदै



८ मंसिर, रामेछाप ।
रामेछापको चार गाउँपालिकामा पहिलो पटक अस्पताल भवन निर्माण हुने भएको छ । सरकारले अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय अनुसार जिल्लाको चार वटा गाउँपालिकामा अस्पताल निर्माण हुन लागेको हो ।
सरकारको निर्णय अनुसार यही मंसिर १५ गते दोरम्बा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकामा १५/१५ शैयाको अस्पताल बन्नेछ भने सुनापती र उमाकुण्ड गाउँपालिकामा १०/१० शैयाको अस्पताल निर्माण हुन लागेको हो । अस्पतालको शिलान्यासँगै यस आर्थिक बर्षबाटै निर्माणको काम अगाडि बढाउन संघीय सरकारले बजेट समेत विनियोजन गरिसकेको छ ।

दोरम्बामा १५ शैयाको अस्पताल निर्माण दोरम्बा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र जग्गा प्राप्तिको काम सम्पन्न गरिसकेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तानले बताउनुभयो । दोरम्बा गत बर्षदेखि डाक्टर सहितको अस्पताल सञ्चालनमा ल्याइएको छ ।
त्यसैगरी सुनापती गाउँपालिकाले पनि दस शैयाको अस्पताल निर्माणको लागि नौ रोपनी जग्गा प्राप्तिको काम सकेको छ । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले पाँच शैयाको कोभिड अस्थायी अस्पताल बेथानमा सञ्चालनमा ल्याइएको बताउदै गाउँपालिकाको केन्द्र हिलेदवीमा अस्पताल निर्माणको काम अगाडि बढाउन लागिएको बताउनुभयो ।अस्पताल नभएका स्थानीय तहहरुमा एकैदिन शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको छ l सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो l

सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ l ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको छ lचालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ l

प्रतिक्रिया दिनुहोस्