दोरम्बा गाउँपालिकाको टोकरपुर र दोरम्बामा बन्यो प्रहरी कार्यालय
१२ मंसिर, रामेछाप ।
दोरम्बा गाउँपालिकाभित्र दुई वटा प्रहरी कार्यालय निर्माणको काम सम्पन्न भएको छ । दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरमा ईलाका प्रहरी कार्यालय सम्पन्न भएको छ भने गाउँपालिकाको वडा नम्बर २ दोरम्बामा प्रहरी चौकीको नयाँ भवन निर्माणको काम सम्पन्न भएको हो ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयले दुई वटा प्रहरी कार्यालय निर्माण गरेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्रको लखनपुरमा पनि प्रहरी कार्यालय निर्माणधिन अवस्थामा रहेको छ ।
‘समाजमा सुरक्षा पहिलो शर्त हो, गाउँपालिकाभित्र दुई वटा प्रहरी कार्यालय निर्माण सम्पन्न भएको छ’, अध्यक्ष मोक्तानले रामेछाप न्युजसँग भन्नुभयो,‘लखनपुरमा कार्यालय निर्माण भइरहेको छ, अब गाउँपालिकाको थापागाउ र खोलाखर्कमा प्रहरी कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता छ ।’ करिब तीन करोड लगातमा टोकरपुरमा नयाँ प्रहरी कार्यालय भवनको निर्माण भएको हो ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले करिब २ करोड लगानीमा दोरम्बामा प्रहरी कार्यालय निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो पहलमा प्रदेश सरकारको बजेटमा दोरम्बा बजारमा आधुनिक र सुविधा सम्पन्न प्रहरी कार्यालय निर्माण गर्न सफल भएका छौं ।’
नवनिर्मित प्रहरी कार्यालयको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले यही मंसिर १४ गते उदघाटन गर्ने कार्यक्रम रहेको छ ।