उद्यम गर्ने युवालाई प्रदेश सरकारले सहुलियतमा ऋण दिन्छः मन्त्री ढुंगेल



१५ मंसिर, चितवन ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले उद्यम गर्ने युवाहरुलाई प्रदेश सरकारले सहुलियतमा ऋण उपलब्ध गराउने बताएका छन् । उनले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताएका हुन् ।
मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताए ।


युवाहरु राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्नेमा जोड दिदै उनले एउटा हातमा राजनीतिक झण्डा र अर्को हातमा उद्यम रोजगारीको झण्डा बोकेर अगाडि बढनु पर्ने बताए ।

उद्यम गर्ने युवाहरुका लागि प्रदेश सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको बताउँदै मन्त्री ढुंगेलले भने–काम सानो ठूलो नभनी उत्पादनमा जोडिनुहोस् । प्रदेश सरकार सहयोग गर्न तयार छ, समृद्धि हाम्रो पालामा सम्भव छ ।’
कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिस्पर्धाबाट जनताको मन जितेर सत्तामा जाने नीति जबजले नै लिएको बताउँदै मन्त्री ढुंगेलले जबजको बाटोमा हिँड्ने तर त्यो बाटोमा हिँडेको छु भन्न किन डराउने प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्