रामेछाप–सिन्धुली जोडने जिल्लाकै लामो झोलुङ्गे पुल बन्ने



१४ मंसिर, रामेछाप ।
सुनकोसी नदीमा रामेछाप–सिन्धुली जोडने जिल्लाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ कोथपे र सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवा बगरमा सुनकोसी नदीकै लामो झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पुल निर्माणपछि खाँडादेवी गाउँपालिकाको वडा नम्बर १ कोथपेका बासिन्दालाई सिन्धुली जान सहज हुनेछ ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले स्थानीय सरकारको पहलमा निर्माण हुन लागेको पुलको लम्बाई ४६५ मिटरको रहेको छ । उनका अनुसार पुलको बीचमा स्टिलको आकर्षक पिलर राखिने छ । उक्त पुल निर्माण भएपछि आन्तरिक पर्यटनमा समेत विकास पुग्ने लक्ष्य राखिएको छ । पुल निर्माण भएसँगै कोथपेका माझी समुदायको लागि काठको परम्परागत डुङ्गा, ¥याफ्टिङ र गाडीको ट्यूवबाट वारपार गर्नुपर्ने जोखिमको अन्त्य हुनेछ ।

पुल निर्माणका लागि ठेकेदार कम्पनी, डोलिडारका इन्जिनियर, प्राविधिक र स्थानीय युवाको सहभागितामा पुलको लेआउट कार्य सम्पन्न भएको छ । करिव सात करोड ५० लाख रुपैयाँ लागतमा संघीय सरकारको सहयोगमा निर्माण पुल निर्माण गरिन लागेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । माझी समुदायले विगत धेरै बर्ष अघिबाट झोलुङ्ग पुलको माग गर्दै आएका थिए । उक्त स्थानमा पुल नहुँदा ढुंगा दुर्घटनामा नागरिकको ज्यान समेत गएको थियो ।

प्रतिक्रिया दिनुहोस्