दोरम्बामा बन्ने भयो १५ शैयाको अस्पताल
१५ मंसिर, रामेछाप ।
दोरम्बा गाउँपालिकाको दोरम्बामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । संघीय सरकारको घोषणा अनुसार गाउँपालिकामा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण हुन लागेको हो ।
दोरम्बा गाउँपालिकाको वडा नम्बर २ दोरम्बामा निर्माण हुन लागेको अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङले संयुक्त रुपमा शिलान्यास गरेका गरेका छन् । अस्पताल भवन निर्माणको लागि गाउँपालिकाले डिपिआर तयार गरिसकेको छ । गाउँपालिकाको पहलमा यसअघि दोरम्बा प्राथमिक अस्पतालमा डाक्टार सहितको सेवा प्रवाह हुँदै आएको छ ।
दोरम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरज मरासिनीले यही मंसिर महिनाभित्र नै अस्पताल निर्माणको लागि ठेक्का प्रक्रिया सम्पन्न गरिने रामेछाप न्युजलाई बताए । अस्पताल निर्माण गर्नको लागि करिब १५ करोड लाग्ने अनुमान गरिएको छ । आगामी दुई बर्षभित्र अस्पताल निर्माण गरिसक्न गरी ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी गाउँपालिकाले गरेको छ ।
अस्पताल शिलान्यास कार्यक्रममा दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठ सहित जनप्रतिनिधि र स्थानीयको सहभागीता रहेको थियो ।