सुनापती गाउँपालिकाको भवन निर्माण गर्न स्थानीयले दिए ८२ रोपनी जग्गा



१५ मंसिर, रामेछाप ।
सुनापति गाउँपालिकाले प्रशासनिक भवन निर्माणको लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको केन्द्र हिलेदेवीमा निर्माण हुन लागेको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा जग्गादाताहरुलाई सम्मान गरिएको हो । सुनापती गाउँपालिका जग्गा व्यवस्थापन समितिका संयोजक बिबि तामाङको नेतृत्वमा गाउँपालिकाको लागि करिब ८२ रोपनी जग्गा निशुल्क रुपमा जग्गा उपलब्ध गराएको थियो ।

जग्गा दाताहरुलाई गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्टले सम्मान गरेका हुन् । सम्मानित हुने जग्गा दाताहरुमा गणेश बहादुर पाण्डे, वीर बहादुर श्रेष्ठ, धन बहादुर तामाङ, वीर बहादुर तामाङ, राकेश कुमार थिङ, रोज थिङ, रंग बहादुर श्रेष्ठ, रामकुमार श्रैष्ठ, पञ्जा तामाङ, माया तामाङनी, राम काजी श्रेष्ठ, पदम बहादुर तामाङ, पूर्णसिंह तामाङ, माइली तामाङ, हर्ख बहादुर तामाङ, सुन माया तामाङ, अर्जुन खडका, सञ्चवीर तामाङ, लाल बहादुर तामाङ, फत्त बहादुर तामाङ, दल बहादुर तामाङ, रामकृष्ण खत्री र विष्णु खत्री रहेका छन् । त्यसैगरी नारायण श्रेष्ठ, शम्भु पाण्डे, शम्भु तामाङ, राजु जोशी र तुलसी माया कार्कीले गाउँपालिकालाई निशुल्क जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।


सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत राममणि काफ्लेले अधिकाशं जग्गा गाउँपालिकाको नाममा आइसकेको र केही आउने प्रक्रियामा रहेको बताए । उनले गाउँपालिकाको प्रशासकीय भवनदेखि लिएर विभिन्न कार्यालयहरु एकै ठाउँमा निर्माण गर्नको लागि स्थानीयले निुशल्क रुपमा जग्गा उपलब्ध गराएर ठूलो गुण लगाएको बताए । ‘जग्गा निशुल्क रुपमा प्राप्त हुँदा गाउँपालिकाको ठूलो बजेट जोगिएको छ’काफ्लेले रामेछाप न्युजसँग भने,‘निशुल्क रुपमा जग्गा प्रदान गर्ने सबै जग्गादताहरुप्रति गाउँपालिका विशेष धन्यवाद दिन्छ ।’
गाउँपालिका स्थापना भएको तीन बर्षपछि गाउँपालिको आफ्नै प्रशासनिक भवन निर्माणको काम अगाडि बढेको छ । गाउँपालिकाले भवन निर्माणको लागि ठेक्का सम्झौता गरिसकेको छ ।


निशुल्क रुपमा जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेका बिबी तामाङले गाउँपालिकाको लागि सहयोग गर्न पाएकोमा खुसी रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘हाम्रो ठाउँको विकासको लागि हामी नै अग्रसर हुनुपर्छ, सबै मिलेर जग्गा निशुल्क रुपमा उपलब्ध गराउन सकियो, अहिले भवन निर्माणको काम अगाडि बढदा हामी खुसी छौ, आगामी दिनमा पनि गाउँपालिकालाई सहयोग गर्न तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्