नामाडी घटनाः सुमन खडका पक्राउ
१७ मंसिर, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका–५ नामाडीमा मंसिर ३ गते भएको कुटपिटको घटनामा संलग्न भएको उजुरीको आधारमा सुमन खडकालाई प्रहरीले पक्राउ गरेको छ । किटानी जाहेरीको आधारमा आज प्रहरीले रामेछापको खिम्तीबाट सुमन खडकालाई पक्राउ गरको हो ।
कुटपिटबाट घाइते भएका वेदराज खडकाले रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्का, दीपक खडका र सुमन खडकाको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा गत मंसिर ३ गते किटानी जाहेरी दिएका थिए । पक्राउ परेका खडका अध्यक्ष काजीबहादुर खडकाका भतिजा रहेको बताइएको छ ।
किटानी जाहेरीमा काजीबहादुरको समूहले आफूलाई कुटपिट गरेको पीडित खडकाले आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले किटानी जाहेरीको आधारमा सुमन खडकालाई आज पक्राउ गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार पक्राउ परेका खडकालाई थप सात दिनको लागि अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । पीडित खडकाले तीन जनाको विरुद्ध ज्यान मार्ने अभियान अन्तर्गत जाहेरी दर्ता गराएका छन् ।