सित्खा–गोगनपानी सडकको गुणस्तरमाथि प्रश्न,अध्यक्ष तामाङले दिए कडा निर्देशन



१९ मंसिर, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको सित्खा–गोगनेपानी सडक कालोपत्रे गर्ने क्रममा ठाउँठाउँमा गुणस्तरहिन काम भएको पाइएको छ । निर्माण कम्पनीले कमसल निर्माण सामाग्री प्रयोग गरेको कारण कालोपत्रे नै उप्किने क्रम देखिएको हो ।

बागमती प्रदेश सरकारले निर्माण गरिरहेको उक्त सडकको गुणस्तरको बारेमा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ सहित प्राविधिक टोलीले अनुगमन गर्ने क्रममा ठाउँठाउँमा गुुणनस्तहिन काम भएको पाइएको छ ।

यस आर्थिक बर्षमा सित्खादेखि गोगनपानीसम्म कालोपत्रे काम सम्पन्न हुनेछ । निर्माण कम्पनीले सित्खाबाट हाल भीरपानीसम्म पहिलो चरणमा झण्डै पाँच किलोमिटर सडक कालोपत्रे गरिरहेको छ ।
खाँडादेवी गाउँपालिका र पूर्वाधार कार्यालय रामेछाप प्राविधिहरुले सडकको अनुगमन गर्ने क्रममा पाँच वटा घुम्तीमा कमसल खालको निर्माण सामाग्री प्रयोग गरेको पाइएको गाउँपालिकाका इन्जिनियर ईश्वर खडकाले बताए ।

सडक निर्माणमा प्रयोग भएको निर्माण सामाग्री कम गुणस्तर भएको स्वयंम निर्माण कम्पनीका इन्जिनियरले स्वीकार गरेको गाउँपालिकाका अध्यक्ष तामाङले बताए । अध्यक्ष तामाङले रामेछाप न्युजसँग भने,‘हामीले विकास निर्माणको काम दिगो र गुणस्तरीय होस भनेर नियमित रुपमा अनुगमन गर्ने गरेका छौ, प्राविधिकहरुले अनुगमन गर्दा गुणस्तरहिन काम देखियो, तत्काल गुणस्तरीय निर्माण सामाग्री प्रयोग गर्न हामीले निर्देशन दिएका छौं ।’ उनले सम्झौता बमोजिमको गुणस्तर कायम गरेर सडक निर्माणको काम अगाडि नबढाए काम अगाडि बढाउन नदिने समेत बताए ।
सित्खा–गोगनपानी–धुलेवेसी सडक निर्माण अन्गर्तत पहिलो चरणमा सित्खा गोगनपानी खण्डमा हाल काम भइरहेको छ । यसअघि पनि उक्त सडक निर्माणको क्रममा नाला गुणस्तरहीन भएको प्राविधिको रिपोर्टका आधारमा गाउँपालिकाले केही समय अगाडि काम रोकेको थियो ।
आत्रेय लुम्बिनी निर्माण कम्पनीले करिब २२ करोड रुपैयाँको लागतमा सडक निर्माणको जिम्मा पाएको थियो ।

खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले सडक निर्माणमा गुणस्तरीय हिन सामाग्री प्रयोग हुने विषय आफूहरुलाई स्वीकार्य नहुने बताए । उनले भने,‘हामीलाई शंका लागेरै प्राविधिक बोलाएर अध्ययन गर्न लगाएका हो, अध्ययन गर्दा ठाउँठाउँमा गुणस्तरहिन काम भएको पाइयो, विकास निर्माणमा हुने गुणस्तरहिन काम स्वीकार्य छैन् ।’ गाउँपालिकाले अनुगमनको कामलाई थप प्रभावकारी बनाउने बताउदै आफूहरुले सम्झौता बमोजिमको गुणस्तरको कायम होस भन्ने चाहेको उनले बताए ।

पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिम्सिेनाले निर्माण कम्पनीले सम्झौता बमोजिम काम गर्नुपर्ने बताउदै गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताए । उनले तोकिएको मापदण्ड अनुसार काम भए नभएको आफूहरुले नियमित अनुगमन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्