बागमती प्रदेशको नयाँ कार्यक्रमः उद्यमी बन्न चाहनेलाई १५ लाखसम्म बिनाधितो ऋण



२५ मंसिर, काठमाडौं ।
बागमती प्रदेश सरकारले नवप्रबद्र्धन प्रस्ताव आह्वान गरेको छ । प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तरगत नयाँ आडिया भएका युवा लक्षित गरी प्रस्ताव आह्वान गरिएको हो । यो वर्ष प्रदेश सरकारले २ सय वटा स्टार्ट अप उद्योग स्थापना गर्ने कार्यक्रम रहेको जनाएको छ । यो कार्यक्रमअन्तर्गत प्रदेश सरकारले विजनेस आइडिया भएका तर लगानी गर्न पैसा नभएकाहरुलाई १ देखि ३ प्रतिशतसम्म बिना धितो कर्जा दिने छ भने महिला, दलितलाई १ प्रतिशतमा ऋण दिनेछ ।

ऋणका लागि बागमती प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता पनि गरिसकेको छ । काठमाडौंमा आयोजित उद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नवप्रद्र्धन कार्यक्रमको उदघाटन गरे । उनले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए।

कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले युवाहरुलाई उद्यमशिल बन्नको लागि सहुलियतपूर्वक कर्जा प्रवाह गरिने बताए । युवाहरुको लागि यस कार्यक्रमले ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गर्दै वैदेशिक रोजगारीको मोह छोडेर आफ्नै देशमा उद्यम गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताए। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे।

 २०७७ माघ महिनाभरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को वेबसाइट मार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ।

प्रतिक्रिया दिनुहोस्