खाँडादेवी गाउँपालिकामा पहिलो पटक गाउँगाउँमा अप्टिकल फाइबरबाट इन्टरनेट



२ पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार गाउँपालिकाको केन्द्रसम्म अप्टिकल फाइबर बिछाएर इन्टरनेट सञ्चालनमा ल्याएको छ । बिपी राजमार्ग हुँदै हाल कालोपत्रे भइरहेको सित्खा–भिरपानी गोगनपानी सडक हुँदै गाउँपालिको केन्द्र माकादुमसम्म फाइबर बिछाएर इन्टरनेट सञ्चालनमा ल्याएको हो । खाँडादेवी गाउँपालिकाले गत बर्ष १२ लाख रुपैयाँमा फाइबर बिछ्याउन बजेट विनियोजन गरेको थियो ।
जिल्लाको मन्थली नगरपालिकापछि फाइबरबाट इन्टरनेट सञ्चालन गर्ने खाँडादेवी गाउँपालिका दोस्रो बनेको छ । गाउँपालिकाको पहलमा फाइबर बिछ्याउने काम सम्पन्न भएसँगै गाउँगाउँमा गुणस्तरीय इन्टरनेटको सुविधा भएको छ ।


कुल २५ लाख लागत रहेको सो आयोजना अन्तर्गत खाँडादेवी गाउँपालिका र इन्टरनेट सेवा प्रदायक एरोनेट प्रालिबीच साझेदारी पत्रमा हस्ताक्षर भएको थियो । खाँडादेवी गाउँपालिकाले १२ कोरको अप्टिकल फाईबरको लागत १२ लाख ब्यहोरेको छ भने बाँकी आवश्यक पर्ने नेटवर्किङ, विद्युतीय सामाग्रीहरु र जडान खर्च एरोनेट प्रालिले ब्यहोरेको छ । १२ कोर मध्ये एरोनेट प्रालिले ईन्टरनेट र आईपी टीभीलाई २ कोर प्रयोग गरेको छ भने बाँकी गाउँपालिकाले सडक सिसीटिभी लगायत अन्य प्रयोजनलाई उपयोग गर्नेछ ।

गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार गाउँपालिकाको केन्द्रसम्म फाइरबाट इन्टरनेट सेवा उपलब्ध गराउन सफल भएको बताए । ‘सञ्चार क्षेत्रको महत्व दिनप्रदिन बढदै गएको छ, गाउँपालिकाले पूर्वाधारसँगै नागरिकहरुको अत्यावश्कीय वस्तुलाई पनि प्राथमिकता दिएको छ’,उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाभित्रका सबै नागरिकहरुलाई इन्टरनेटको पहुँचमा पुर्याउन फाइबर मार्फत इन्टरनेटको सेवा प्रवाह गर्न लागिएको हो ।’

अध्यक्ष तामाङले नौ वटै वडा कार्यालय सबै विद्यालयहरुमा अप्टिकल फाइर मार्फत इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखेको बताए । अप्टिकर फाइबर मार्फत हाल भिरपानी, गोगनपानी र माकादुम सडक आसपास भएका वडा कार्यालय, विद्यालय र समुदायमा फाइबर मार्फत इन्टरनेट सेवा प्रदान गरिएको छ । एरोनेट प्रालिले मासिक १५ सय ५० रुपैयाँमा ३० एमबिपस ईन्टरनेट सेवा उपलब्ध गराएको छ ।
अध्यक्ष तामाङले हाल गाउँपालिका आएको अप्टीकल फाईबरलाई पकरवाससम्म पुर्याउन डिपिआरको काम भइरहेको बताए । बाक्लो बस्ती र धैरै ग्राहक हुने बस्तीमा भने एरोनेट प्रालिले नै ईन्टरनेट सेवा पुर्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्