सैलुङमा सीमा विवादः आधा भू–भाग रामेछापको भएको निष्कर्ष



४ मंसिर, रामेछाप ।
रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रलाई साझा थलोको रुपमा विकास गरेर अगाडि बढने निष्कर्ष रामेछापका जनप्रतिनिधिहरुले निकालेका छन् । दुई जिल्लाको संगमस्थल सैलुङको सबै भाग दोलखाले दावी गरेपनि विवाद सुरु भएको थियो ।

सैलुङ क्षेत्रको विकास गर्नको लागि बागमती प्रदेश सरकारले गत बर्ष विनियोजन गरेको एक करोड दोलखा जिल्लाले मात्र कार्यान्वय गरेपछि रामेछापले आपत्ति जनाउदै आएको छ । यसअघि प्रदेश सरकारले नै सैलुङ दुवै जिल्लाको साझा भएको निर्णय गरेको थियो । तर सैलुङ क्षेत्रको विकासमा दोलखाले एकतर्फी अगाडि बढेपछि रामेछापले सैलुङलाई साझा थलोको रुपमा विकास हुन सकेको छैन् । निर्माण भएका भौतिक संरचनाको समेत संरक्षण हुन सकिरहेको छैन् ।

सैलुङ क्षेत्रको समग्र समस्या पहिचान गरेर समाधान गर्न रामेछापका जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका छन् । अनुगमनको क्रममा जनप्रतिनिधिको टोलीले तथ्य तथ्याङक र दस्तावेज अनुसार सैलुङ दुवै जिल्लाका आधा आधा भएको निष्कर्ष निकाल्दै साझा थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।

दोरम्बा गाउँपालिकाको सक्रियतामा सैलुङ्गलाई साझा थलोको रुपमा विकास गर्ने काम समेत अगाडि बढेको छ । स्थलगत अनुगमन गरेपछि रामेछाप न्युजसँग कुराकानी गर्दै रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नापी नक्सा अनुसार पनि सैलुङ रामेछाप र दोलखाको साझा भूगोल रहेको बताए । उनले भने,‘दोलखाले मात्र सैलुङ दावी गर्ने अवस्था छैन, ऐतिहासिक दस्तावेजको आधारमा समाधान खोज्नु पर्छ, सैलुङ दुवै जिल्लको साझा हो ।’

सैलुङमा देखिएको सीमा विवाद समाधान गर्न आफूले भूमिका खेल्ने बताउदै दुई जिल्लाको विषयमा आपसी संवाद र सहमतिकै आधारमा विवाद टुंगो लाग्ने सांसद श्रेष्ठले बताए । दावी गर्दैमा सैलुङ दोलखाको मात्र हुन सक्दैन, सबै मिलेर सैलुङको विकासमा लाग्नु पर्छ, उनले भने । विगतमा गरिएको भोगचलन नापी नक्सा तथ्य र प्रमाणको आधारमा टुंगो लाग्ने विषयमा दोलखाले अनावश्यक रुपमा समस्या अब थप्न नहुने बताउदै उनले जनप्रतिनिधि र राजनीतिक तहमा संवाद गरेर विवाद हल गरिने बताए ।

टोलीले रामेछापको दोरम्बा गाउँपालिका र दोलखाको सैलुङ गाउँपालिकाबीच संवाद गर्ने, दुवै जिल्लाका जिल्ला समन्वयका प्रमुखबीच छलफल गर्ने निष्कर्ष निकालेको छ । दोलखा जिल्लाले मात्र सैलुङ आफ्नो दावी गरेपनि दोरम्बा गाउँपालिकाले पनि नापी नक्सा अनुसार पानीढलो साँध भएको प्रमाणको आधारमा आधा आफ्नो भूभाग रहेको तथ्य प्रस्तुत गर्दै आएको छ ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले आफूहरुले तथ्य र प्रमाणको आधारमा सैलुङलाई दुवै जिल्लाको साझा थलोको रुपमा विकास गर्ने योजना अगाडि सारेको बताए । उनले रामेछाप न्युजसँग भने,‘प्रदेश सरकारले नै सैलुङ दुवै जिल्लाको साझा हो भनेर गरेको निर्णय दोलखाले कार्यान्वयन गरेपछि समस्या सृजना भएको हो, दोलखा जिल्लाका सरोकारवाला निकायसँग संवाद गरेर समाधान गर्न लागि परेका छौं ।’
सैलुङ रामेछापको दोरम्बा गाउँपालिका र दोलखाको सैलुङ एवं मेलुङ गाउँपालिकासँग सीमाना जोडिएको क्षेत्रमा पर्दछ । सैलुङ क्षेत्रमा भ्युटावर, सिढी निर्माणको काम भएको छ भने छ्र्योतेन निर्माणको काम भइरहेको छ । दोरम्बा गाउँपालिकाले यस बर्ष छर्योतेन निर्माण गर्नको लागि पचास लाख रुपैयाँ विनियोजन गरेको छ । एक बर्ष अघि सैलुङलाई आन्तरिक एवं बाह्य पर्यटकीय गन्तव्यको रुपमा थप प्रचार प्रसार गर्ने उदेश्यले दोरम्बा गाउँपालिकाको लगानीमा प्रथम सैलुङ महोत्सव समेत आयोजना गरिएको थियो । महोत्सवमा हजारौ आन्तरिक पर्यटकले अवलोकन गरेका थिए ।
पछिल्लो समय सडक मार्गको पहुँच पुगेसँग दोरम्बा गाउँपालिका हुँदै सैलुङमा आउने आन्तरिक पर्यटकहरुको संख्यामा उल्लेखिय रुपमा विकास भएको दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले बताइन । अहिले ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको सैलुङमा प्राकृतिक सौन्दर्य हेर्नको लागि दैनिक सयौको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।

सैलुङको स्थलगत अनुगमनमा रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, बागमती प्रदेशका सांसद शान्ति पौडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खडका, नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्