संसद विघटनकाे असंवैधानिक कदमको शसक्त प्रतिवाद गछौः नेता श्रेष्ठ



१० पुस, काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समुहका विघटित प्रतिनिधिसभा सांसद एवं केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठले संसद विघटन गर्ने असंवैधानिक कदमको सशक्त रुपमा प्रतिवाद गर्ने बताएका छन् । उनले संविधानमै नभएको अधिकार प्रयोग गरेर जनताको सर्वोच्च निकाय संसद विघटन गर्नु असंवैधानिक कदम भएको बताएका हुन् ।

जनताले पाँच बर्ष नेकपालाई सरकार सञ्चालन गर्न दिएको जनमतको अपमान गर्दै देश र जनतालाई धोका दिएको बताउदै नेता श्रेष्ठले भने,‘सर्वोच्च अदालतबाट संसद पुर्नस्थापित हुन्छ, संविधानले गरेको व्यवस्था अनुसार पार्टी एकीकरण गर्दा ४४१ जना केन्द्रीय सदस्य मध्ये ३१५ जना सहभागी भएको पक्षले नै वैधानिकता पाउछ ।’
संसद विघटनका विरुद्धमा आन्दोलन सुरु भएको भन्दै उनले पहिलो चरणको आन्दोलनबाट पनि सुनुवाइ नभए सशक्त आन्दोलन गर्न बाध्य हुने बताए । नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गर्ने दुस्साहस गरिएको बताए ।

‘सदनभित्रबाट समस्या समाधान हुँदासम्म सदन विघटन र अर्को निर्वाचनमा जाने कुरै हुँदैन,निर्मम, निरंकुश र तानाशाहीको नाङ्गो रुप भएकाले यो लोकतन्त्रमाथिको हत्या हो’, श्रेष्ठले भने । प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्तावअनुसार संसद विघटन हुनै नसक्ने बताउदै श्रेष्ठले सर्बोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्