२ करोड ८९ लाखमा खाँडादेवी गाउँपालिकाको सुलिथुम्कामा भ्युटावर निर्माण हुँदै
१० पुस, रामेछाप ।
पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यको साथ खाँडादेवी गाउँपालिका–५ पकरवासस्थित सुलीथुम्कामा २ करोड ८९ लाखमा भ्युटवार निर्माणको काम अगाडि बढेको छ । बागमती प्रदेश सरकारको लगानीमा गाउँपालिकामा पहिलो पटक भ्युटावर निर्माण हुन लागेको हो ।
९ सय ५० मिटर खुड्कीला सहित पाँचतले भ्युटावर निर्माण भएपछि आन्तरिक एवं बाह्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने लक्ष्य बागमती प्रदेश सरकारले लिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा सुलीथुम्कामा भ्युटावर निर्माण हुन लागेको हो । बगैंचा सहितको पार्क निर्माण भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।
भ्युटावरको जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का र खँडादेवी गाँउपालिका अध्यक्ष प्रेम बहादुर तमाङले संयुक्त रुपमा शिलान्यास गरेका छन् । गाउँपालिकाका अध्यक्ष तामाङले भ्युटावर निर्माण भएपछि रामेछाप,दोलखा,सिन्धुली र काभ्रे जिल्लाका अधिकांश क्षेत्रकहरुको दृश्यावलोक गर्न सकिने बताए ।
उनले भ्युटावर निर्माण भएपछि आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा बृद्धि हुने विश्वास व्यक्त गरे । तामाङले भने,‘आधुनिक र व्यवस्थित पार्क सहितको भ्यु टावर निर्माण भएपछि आन्तरिक पर्यटन प्रर्बद्धनमा सहयोग पुग्छ ।’ उनका अनुसार भ्युटावर पाँच तलाको बन्नेछ ।
२०७८ जेठमा सम्पन्न गर्ने गरी भ्युटावर निर्माणको जिम्मेवारी सुनकोशी कन्ट्रक्सनसंग निर्माण कम्पनीले पाएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको पर्यटन विकास आयोजनाले सुलिथुम्कामा भ्युटावर निर्माणको काम अगाडि बढाएको हो ।