अविश्वासको प्रस्ताव दर्ता हुँदैमा सरकार ढल्दैनः मन्त्री ढुंगेल



१२ पुस, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैमा सरकार नढल्ने बताएका छन् । उनले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिने बताएका हुन् ।

मन्त्री ढुंगेलले रामेछाप न्युजसँग भने,‘अविश्वासको प्रस्ताव दर्ता असफल हुन्छ, प्रस्तावको सहजै सामाना गरेर अगाडि बढछौं ।’ प्रदेश सरकारले अपेक्षा भन्दा पनि बढी काम गर्दा पनि काम गरेर भन्नु गलत रहेको बताउदै उनले आगामी दिनमा प्रदेश सरकारले झन राम्रो काम गरेर अगाडि बढने बताए । ‘प्रदेश सरकारले राम्रो काम गरेन भन्न ठाउँ छैन, अहिले सरकारको विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव कुनै पनि हातलमा पास हुने सम्भावना छैन’, मन्त्री ढुंगेलले भने ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री ढुंगेलले सरकारको विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले साथ नदिने दावी गर्दै आफूहरु बहुमतमै रहेको बताए । ४५ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दैमा सरकार नढल्ने बताउदै उनले विश्वासको  मत सहजै रुपमा लिन सकिने बताए ।

बागमती प्रदेशमा ११० जना सांसद रहेका छन् । जसमध्ये नेकपाका ८२ जना सांसद रहेका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षका ४५ जना सांसदहरुले भने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्