लुम्बिनीमा कुलमान घिसिङले दिए एक रुपैयाँ सहयोग



१५ पुस, लुम्बिनी । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण गर्न एक रुपैयाँ सहयोग गर्नुभएको छ । अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने गरी निर्माण हुन लागेको केन्द्र निर्माण गर्न घिसिङले एक रुपैयाँ सहयाग गर्नुभएको हो ।

लुम्बिनीमा बुधबार आयोजित कार्यक्रममा घिसिङले केन्द्रका परिकल्पनाकार श्याल्पा तेन्जिङ रिन्पोचेलाई एक रुपैयाँ दान दिएर अभियानमा ऐक्यवद्धता जनाउनुभयो । उहाँले केन्द्रको स्थापना विश्व शान्तिका लागि महत्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रिन्पोचेले सबैको सहभागीता र अपनत्व हुने गरी अभियानमार्फत केन्द्रको स्थापना गरेर लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन लागिएको बताउनुभयो ।

जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको केन्द्र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । केन्द्रको मुख्य आकर्षण सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ । अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भूकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको बताइएको छ ।

महायानी संप्रदायलाई छुट्याइएको पश्चिम क्षेत्रको एक सय २० मिटर वर्गाकार प्लटमा दक्षिण कोरियाली विहार नजिक केन्द्र निर्माण भइरहेको छ । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण सुरु गरिएको हो । लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो केन्द्र निर्माण भइरहेको छ ।

गत कातिकमा बद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निमार्णको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले नेपाली एक रुपैयाँ दिएर अभियानको सुरुवात गर्नुभएको थियो । महासचिव विराकुनले बुद्धको जन्मभुमिमा निर्माण भैरहेको सेन्चुरी फर युनिभर्सल पिसले विश्वभरिका शान्तीप्रेमीहरुको लागि भएकोले यस अभियानमा सहभागी हुन सबैलाई आव्हान गर्नुभएको थियो ।

धर्म गुरु श्याल्पा तेन्जिङ रिन्पोछे शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको अभियानको केन्द्रको रुपमा विकास गर्न सेन्चुरी फर युनिभर्सल पिस निर्माण भइरहेको बताउुभयो । एक रुपैयाँ सहयोग गरेर पवित्र कार्यमा सहयोग गरिदिएकोमा रिन्पोछेले घिसिङलाई धन्यवाद दिनुभयो ।
युनिर्भर्सल पिस सेन्टर निर्माण गर्नको लागि ‘एक व्यक्ति एक रुपैयाँ’को अभियान अगाडि सारिएको छ । बुद्धको शिक्षा अनुसार यही मनोवृत्तिले शान्ति, सद्भाव र सहिष्णुता बढाउने विश्वास व्यक्त गर्दै रिन्पोछेले मुठ्ठी दानको अवधारणाबाट यो अभियानको सुरुवात गरिएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्