नेकपा रामेछापको आठ स्थानीय कमिटीका अध्यक्ष र सचिव को कता ? (सूचिसहित)



१८ पुस, रामेछाप ।
नेकपा दुई समुहमा विभाजित भएसँगै रामेछापमा पनि कित्ताकाट सुरु भएको छ । जिल्ला कमिटीबाट सुरु भएको कित्ताकाट आठ वटै स्थानीय तहमा परेको छ । नेकपा प्रचण्ड–नेपाल समुहले जिल्ला कमिटीको बैठक सम्पन्न गरेर स्थायी कमिटीको भेलालाई निरन्तरता दिएको छ भने नकेपा ओली समुहले पुस २२ गतेको लागि जिल्ला कमिटीको बैठक बोलाएको छ ।

दुवै समुह आ–आफ्नो रणनीति अनुसार जिल्लाका नेता कार्यकर्तालाई आफूतिर तान्ने काममा क्रियाशिल रहेका छन् । त्यसैगरी आठ वटै स्थानीय तहको कमिटीमा पनि कित्ताकाट सुरु भएको छ । केही स्थानीय तहका अध्यक्षले भने आफ्नो कित्ता स्पष्ट पारेका छैनन् ।
मन्थली नगर कमिटीका अध्यक्ष कृष्णहरि अधिकारी तटस्ठ रहेका छन भने मन्थली नगर कमिटीका सचिव दिपक प्रसाई प्रचण्ड–नेपाल समुहमा लागेका छन् ।
त्यसैगरी खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ र सचिव रमेश तामाङ दुवै जना प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । दोरम्बा गाउँ कमिटीका अध्यक्ष हिरा श्रेष्ठ र सचिव कुमार कंडेल पनि प्रचण्ड–नेपाल पक्षमै लागेका छन् । दुवै समुह स्थानीय कमिटीमा पनि आफ्नो पक्षमा बहुमत पुर्याउने कसरतमा लागेका छन् । सुनापती गाउँपालिकाको अध्यक्ष ज्ञान कुमार योञ्जन र सचिव रामकृष्ण तामाङ दुवै ओली समुहमा लागेका छन् । योञ्जन र तामाङ दुवै जनालाई ओली समुहको महाधिवेशन आयोजक समितिमा प्रस्ताव गरिएको छ ।

रामेछाप नगर कमिटीको अध्यक्ष मोतीलाल तामाङ र सचिव होतराज ढकाल प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष उद्धबराज कडेरिया तटस्थ रहेका छन भने सचिव ध्रुव कार्की प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । गोकुलगंगा गाउँ कमिटीका अध्यक्ष एवं गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार तटस्थ भूमिकामा रहेका छन भने सचिव प्रज्ञान खडका नेपाल–प्रचण्ड पक्षमा लागेका छन् ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष चित्र बहादुर कार्की तटस्थ भूमिकामा छन भने सचिव सरिता कार्की नेपाल–प्रचण्ड समुहमा लागेकी छिन् ।
मन्थली नगर कमिटीका अध्यक्ष अधिकारी, लिखु तामाकोसी गाउँ कमिटीका अध्यक्ष कडेरिया र गाेकुलग‌गा गाउँ कमिटीका अध्यक्ष सुनुवार तटस्थ रहने बताएका छन् । पुस २२ गते बस्ने ओली समुहको जिल्ला कमिटीको बैठकमा पनि सहभागी नभएको अवस्थामा मात्र तीन जना तटस्थ भएको पुष्टि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्