सित्खा–गोगनपानी सडक गुणस्तरहीन बनेपछि खाँडादेवी गाउँपालिकाको ‘एक्सन’



२० पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिकाभित्र निर्माणाधिन सित्खा–गोगनपानी सडक कालोपत्रे गर्ने त्रममा गुणस्तरहीन भएसँगै गाउँपालिकाले ‘एक्सन’ लिएको छ । गाउँपालिकाको तर्फबाट प्राविधिहरुले गरेको अनुगमनको क्रममा गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग भएको पाइएपछि गाउँपालिकाले एक्सन लिएको हो ।

आत्रेय÷शर्मा जेभीले निर्माण गरिरहेको सित्खा–गोगनपानी सडक निर्माणको क्रममा कमसल कालोपत्रे भएपछि स्थानीय सरकारले प्रश्न उठाएको थियो । निर्माण कम्पनीले सम्झौता बमोजिम ढल निकासी, ग्याबिङ लगायतको काम नगरेपछि गाउँपालिकाको पहलमा पूर्वाधार कार्यालय रामेछाप र निर्माण कम्पनीका प्रतिनिधिबीच त्रिपक्षीय छलफल भएको छ ।

छलफलको क्रममा निर्माण कम्पनीले गल्ती भएको स्वीकार गर्दै सम्झौता अनुसार नै काम अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । निर्माण कम्पनीले उक्त सडक खण्डको चिसापानी पहरामा लगाएको जाली झिकेर पुनः लगाउने चिसापानीको मोडबाट जाने पानी नियन्त्रणको लागि ढल बनाउने सहमति जनाएको छ ।

खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले सडक निर्माणको नियमित अनुगमन गर्ने क्रममा गुणस्तरहिन काम भएको तथ्य फेला पारिएको बताए । उनले भने गाउँपालिकाका प्राविधिकहरुले गरेको अनुगमनका सडक निर्माणमा गुणस्तरहिन निर्माण सामाग्री भएको पाएपछि त्रिपक्षीय छलफल मात्र गुणस्तर कामय गर्ने निर्माण पक्षले सहमति जनाएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले सम्झौता अनुसार काम भएको छ कि छैन भनेर नियमित अनुगमन गरिरहेका छौ, सम्झौता अनुसार काम नभए काम अगाडि बढन दिदैनौ, आज बनाएर भोली भत्किने सडक निर्माण गर्नको कुनै अर्थ छैन् ।’

पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिमिल्सना निर्माण कम्पनीले काम गर्ने क्रममा त्रुटी गरेको बताए । उनले स्थलगत अनुगमनबाट निर्माण कम्पनीलाई सम्झौता बमोजिम गुणस्तरीय काम गर्न निर्देशन दिएको बताए ।

सडक निर्माणको क्रममा निर्माण कम्पनीले काम मात्र छिटो सक्ने गरी काम गरेकाले आफूहरुले आपत्ति जनाएको खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले बताए । उनले निर्माण कम्पनीले सम्झौता अनुसार काम भए/नभएको नियमित रुपमा प्राविधिक टोली सहित अनुगमन गर्ने बताए । खाँडादेवी गाउँपालिका, पूर्वाधार कार्यालय रामेछाप र निर्माण कम्पनीबीच भएको सहमति अनुसार सडक निर्माणको अनुगमन मार्फत अन्तिम भुक्तानीको लागि खाँडादेवी गाउँपालिकाले सिफारिस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्