रामेछापको खिम्ती–ठोस–गुम्देल सडक धमाधम कालोपत्रे हुँदै



२४ पुस, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाको खिम्तीबाट गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालु हुँदै गुम्देलसम्म जोडने सडकको कालोपत्रे अगाडि बढेको छ । पहिलो खण्डमा यस आर्थिक बर्षमा खिम्तीको छतिवने खोलादेखि नामाडीसम्म १५ किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।
दुई वटा प्याकजेमा फर्पुदेखि नामाडीसम्म यस बर्ष कालोपत्रे गर्ने कार्यक्रम रहेको छ । पहिलो प्याकेज तीन किलोमिटरमा अहिले कालोपत्रे भइरहेको छ भने बाँकी १२ किलोमिटर सडकमा भने यही फागुन अन्तिम साताबाट कालोपत्रको काम अगाडि प्रादेशिक सडक डिभिजन कार्यालय खुर्कोटका निमित्त प्रमुख देवनारायण यादवले रामेछाप न्युजलाई बताए ।

२०७२ सालमै संघीय सरकारको डिभिजन सडक कार्यालय खुर्कोटले ठेक्का लगाए पनि निर्माण कम्पनीले काम नगर्दा उक्त सडकको काम अगाडि बढन सकेको थिएन । संघीय सरकारले बागमती प्रदेश सरकारले नै सो सडक निर्माण गर्ने निर्णय गरेपछि गत बर्षबाट कामले गति लिएको छ । यस आर्थिक बर्षमा १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेर बाँकी रहेको खण्डमा ठेक्का लगाउनको लागि डिपिआर समेत पूर्वाधार कार्यालय रामेछापले तयार गरिसकेको छ ।

खिम्ती–रस्नालु–ठोसे–देउराली हुँदै गुम्देलसम्म जोडने सडक गोकुलगंगा र उमाकुण्ड गाउँपालिका जोडन मुख्य सडकको रुपमा रहेको छ । बागमती प्रदेश सरकारले अगाडि सारेको प्रदेश रिङरोड समेत यही सडक रहेको छ । जिल्लाको गु्म्देल हुँदै उक्त सडक दोलखाको जिरीमा जोडिनेछ । उमाकुण्ड गाउँपालिकाको कालोचौतारादेखि गाउँपालिकाको प्रितिसम्म जोडने करिब १७ किलोमिटर सडक पनि धमाधम यसै बर्षमा कालोपत्रे हुने गरी काम अगाडि बढेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले खिम्तीदेखि गोगुलगंगा र उमाकुण्ड गाउँपालिका हुँदै जिरी जोडने सडकलाई प्राथमिकतामा राखिएको बताए । उनले भने,‘यस सडकलाई छिटो भन्दा छिटो कालोपत्रे गर्न प्राथमिकताको साथ बजेट हालिएको छ, बाँकी सडक खण्ड कालोपत्रे गर्न बहुबर्षिय ठेक्का प्रक्रिया अगाडि बढाउछौं ।’

खिम्तीदेखि नामाडीसम्मको १५ किलोमिटर सडक कालोपत्रे गर्न प्रदेश सरकारले २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
रामेछापका बागमती प्रदेशका सांसद शान्ति पौडेलले जिल्लाको दुई गाउँपालिका जोडने मुख्य सडक कालोपत्रेको काम तीब्र गतिमा अगाडि बढेको बताउछन । उनले छ बर्ष अघि नै ठेक्का लागेपनि विभिन्न कारणले हुन नसकेको सडक निर्माण काम प्रदेश सरकारले अहिले प्रभावकारी रुपमा अगाडि बढाएको बताए ।प्रदेश सरकारले नामाडीबाट गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुसम्म पनि बहुबर्षिय ठेक्का मार्फत कालोपत्रेको काम अगाडि बढाउने तयारी गरिरहेको छ ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गाउँपालिकाभित्र यसअघि नै हुनुपर्ने सडकको काम ढिलै भए पनि यसबर्षबाट राम्रोसँग अगाडि बढेको बताए । उनले गाउँपालिकाको तर्फबाट नियमित अनुगमन भइरहेको बताउदै भने,‘सडकको गुणस्तर कायम गर्न गाउँपालिकाका प्राविधिकहरुले पनि नियमित रुपमा अनुगमन गरिरहेका छन् ।’ गाउँपालिकाको केन्द्रसम्म सडक छिट्टै सडक कालोपत्रे गराउन पहल गर्ने पनि अध्यक्ष सुनुवारले बताए ।

त्यसैगरी गोकुलगंगा गाउँपालिको रस्नालुबाट उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रिति हु्ँदै सिगंटीसम्मको १७ किलोमिटर सडक कालोपत्रे अगाडि बढेको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले कालेपत्रेको काम अगाडि बढेको र थप बजेटको लागि पहल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्