रामेछापको सुकाजोरमा ४ करोड लागतमा सुविधा सम्पन्न कभर्ड हल बन्ने



२७ पुस, रामेछाप ।
खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्यको साथ रामेछाप नगरपालिका–७ सुकाजोरमा सुविधान सम्पन्न कभर्ड हल निर्माणको काम अगाडि बढेको छ । नगरपालिकाले नगरको गौरवको आयोजना अन्तर्गत कभर्ड हल निर्माणको काम अगाडि बढाएको हो ।

संघीय सरकार, प्रदेश सरकारसँगै रामेछाप नगरपालिकाको लगानीमा कभर्ड हल निर्माणको काम अगाडि बढाएको रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले बताए । कभर्ड हल निर्माणको लागि ५ करोड २० लाख विनियोजन गरिएको थियो । तर ठेक्का सम्झौता भने ४ करोड ५३ लाखमा भएको छ ।
रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले समयमा नै कवर्ड हल निर्माणका लागि नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने बताइन । उनले कवर्ड हल निर्माण भएपछि खेलकुदमा युवा आकर्षण बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
कभर्ड हलको डिजाइन आधुनिक र सुविधा सम्पन्न ढंगले गरिएको छ । नगरपालिकाले गरेको काम मध्ये कभर्ड हल नगरपालिकाको ठूलो आयोजना हो ।

 

प्रतिक्रिया दिनुहोस्