दोरम्बा गाउँपालिकाको सबै वडामा हेलिप्याडक निर्माण



२९ पुस, रामेछाप ।
रामेछाप जिल्लाभित्र ‘एक वडा एक हेलिप्याड’ निर्माण गर्ने अभियान अनुसार दोरम्बा गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माणको काम सम्पन्न गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार अनुसार नै सात वटै वडामा हेलिप्याड निर्माणको काम सम्पन्न भएको हो ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले सात वटै वडामा हेलिप्याड निर्माणको काम सम्पन्न भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार लखुनपर, गँुरासे, टोकरपुर, दोरम्बा पासिवन लगायतको ठाउँमा हेलिप्याड निर्माण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले पनि हालै रामेछापको ‘एक वडा एक हेलिप्याड’ निर्माणको अभियान अगाडि बढाउने निर्णय गरेको थियो । सात वटै वडामा हेलिप्याड निर्माण गरेर विपद् व्यवस्थापन समितिको निर्णय दोरम्बा गाउँपालिकाले कार्यान्वयमा ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष मोक्तानले दोरम्बा गाउँपालिका पनि भौगोलिक रुपमा विकट रहेकाले राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू गर्नको लागि पहल भइरहेको रामेछाप न्युजलाई बताए । उनले रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)सँग सुत्कुरी र गर्भवती महिलाको उद्धारको लागि महिला उत्थान कार्यक्रम लागू गर्नको लागि आग्रह गरेको बताए ।

भौगोलिक हिसाबमा विकट मानिएको रामेछापको उमाकुण्ड गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएपछि गाउँपालिकाभित्रका सुत्केरी र गर्भवती महिलाहरुको हेलिकोप्टर मार्फत निशुल्क उद्धार हुने गरेको छ ।दोरम्बा गाउँपालिकाको डडुवा गौश्वरा जिल्लाकै विटक क्षेत्रको रुपमा रहेको छ । अध्यक्ष मोक्तानले तत्काल राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू हुन सकेपनि कुनै दुर्घटना वा विपद्बाट तत्काल उद्धार गर्नको लागि समयमै हेलिकोप्टर आउने व्यवस्था मिलाइ दिन पनि जिल्ला प्रशासन कार्यालय रामेछापसँग माग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्