संसद विघटन विरुद्ध रामेछापको गाउँगाउँमा कांग्रेसको विरोध प्रर्दशन



३ माघ, रामेछाप ।
प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली कांग्रेस रामेछापले जिल्लाको आठ वटै स्थानीय तहमा विरोध प्रर्दशन गरेको छ । कांग्रेसको घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत जिल्लाको आठ वटै स्थानीय तहमा असंवैधानिक कदमको विरुद्ध कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।
रामेछापको दुई नगरपालिका र छ वटा गाउँपालिकामा आयोजिनत विरोध सभामा जिल्ला नेताहरुले सम्बोधन गरेका थिए । यसअघि सदरमुकाम केन्द्रीत रहेको विरोध प्रदर्शनको कार्यक्रमलाई कांग्रेसलाई गाउँगाउँमा पुर्याएको छ ।

जिल्लाको गोकुलगंगा गाउँपालिकामा आयोजिक सभालाई सम्बोधन गर्दै कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले सरकारको असंवैधानिक कदमको विरुद्ध आगामी दिनमा आन्दोनलाई थप सशक्त बनाएर लैजाने बताए । ‘संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्थामाथि नै प्रहार गर्ने बोल्ने काम गरेका छन’, उनले भने । मन्थली नगरपालिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सचिव लेखबहादुर कार्कीले संसद विघटन हुँदा अहिलेको संविधान र लोकतन्त्र नै खतरामा परेको बताए ।

उमाकुण्ड गाउँपालिकामा आयोजित विरोध सभालाई पार्टीका जिल्ला सचिव विष्णु वस्नेतले सम्बोधन गरेका थिए । लिखु तामाकोसी गाउँपालिकामा आयोजित विरोध सभालाई भने महाधिवेशन प्रतिनिधि कृष्ण महतले सम्बोधन गरेका थिए । त्यसैगरी रामेछाप नगरपालिकामा आयोजित विरोध सभालाई रामेछाप कांग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले अहिलेको परिवर्तनमाथि प्रहार गर्ने गरी ससद विघटन गरेको बताए ।

खाँडादेवी गाउँपालिमा आयोजित सभालाई महासमिति सदस्य वीर बहादुर लामाले सम्बोधन गरेका थिए । दोरम्बा गाउँपालिकामा आयोजिक विरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले जनताले नेकपालाई दुई तिहाई मत दिए पनि अहिले आएर जनमतको अपमान गरेको बताए । उनले भने,‘संसद विघटन गरेर प्रधानमन्त्री ओलीलाई देशलाई ठूलो दुर्घटनातर्फ लैजाने खेलमा अगाडि बढेका छन् ।’

त्यसैगरी सुनापती गाउँपालिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खडकाले प्रधानमन्त्री ओलीले अहिलेको परिवर्तनलाई सिध्याउने गरी संसद विघटनको कदम चालेको बताए । लामो वलिदानबाट उपलिब्ध जोगाउन कांग्रेस आन्दोलनमा उत्रिएको बताउदै असंवैधानिक कदम सच्याउनुको विकल्प नभएको खडकाले बताए । कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले जिल्लाको आठ वटै स्थानीय तहमा भव्य रुपमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्