पुष्पलाल र गंगालालको जन्मभूमि रामेछाप नगर कमिटीबाट आयो एकताको सन्देश (विज्ञप्तीसहित)



५ माघ, रामेछाप ।
प्रतिनिधिसभा विघटन भएसँगै दुई समुहमा विभाजित भएपछि नेकपाभित्र केन्द्रदेखि वडा तहसम्मै समानान्तर भेला सञ्चालन भइरहेको छ । रामेछाप जिल्लामा पनि नेकपा ओली समुह र प्रचण्ड–नेपाल समुहले फरक– फरक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

जिल्ला भेला हुँदै स्थानीय तहबाट अहिले वडा तहमा समेत धमाधम भेलाको कार्यक्रम दुवै समुहले सञ्चालन गरिरहेका छन् । प्रचण्ड–नेपाल समुहले आठ वटै स्थानीय तहमा कार्यक्रम सम्पन्न गरेर वडा भेला करिब सम्पन्न गर्ने चरणमा रहेको छ भने ओली समुहले खाँडादेवी गाउँ कमिटी र लिखु तामाकोसी गाउँ कमिटीको भेला सम्पन्न गरेको छ । बाँकी स्थानीय कमिटीमा पनि भेलाको कार्यक्रम घोषणा गरिसकेको छ ।
जिल्ला, स्थानीय र वडा कमिटीमा समेत दुई समुहमा विभाजित भइरहेको बेला नेकपा रामेछाप कमिटीमा रहेका पदाधिकारीहरु भने एकै ठाउँमा उभिएर एकताबद्ध रहेको सन्देश दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र शहीद गंगालालको जन्मभूमि समेत रहेको रामेछाप नगर कमिटीमा रहेका अध्यक्ष, सचिव र तीन जना कार्यालय सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी एकताबद्ध रहेको सन्देश दिएका हुन् ।

नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङ, सचिव होतराज ढकाल, कार्यालय सदस्य रोशन पाख्रिन, कार्यालय सदस्य नरेशबाबु श्रेष्ठ र कार्यालय सदस्य इन्दिरा बख्रेलद्धारा संयुक्त रुपमा जारी गर्दै आफूहरु पार्टी एकताको पक्षमा उभिएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ–पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयमा रामेछाप नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ,यसबाट सृर्जित पार्टी फुटको अवस्थामा रामेछाप नगर कमिटी नेकपाको संस्थापक महासचिव पुष्पलाल र प्रजातान्त्रिक आन्दोलनका महान शहीद गंगालालको जन्मभूमिबाट रामेछाप नगर कमिटी एकताबद्ध रहेको जानकारी गराउदछ । रामेछाप नगरवासी आमा बुबा दार्जभाई तथा दिदीबहिनीहरुमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि नेकपा नगर कमिटी एकजुट भएर अगाडि बढनेको लागि हार्दिक अपिल गर्दछौ, विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्