विकास निर्माणको अनुगमन गर्ने रामेछापका सिडियो शर्माको नयाँ शैली



६ माघ, रामेछाप ।
जिल्लाभित्र निर्माण भइरहेको विकास निर्माणको काम गुणस्तरहिन बन्दै गएको जनगुनासो आएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाइ) एक्लै अनुगमनमा निस्किने गरेका छन् । विगतमा सिडियो सहितको टोली अनुगमनमा जाने गरेको परम्परालाई तोडदै प्रजिअ शर्माले भने छडके रुपमा विकास निर्माणको अनुगमन थालेका हुन् ।

प्रजिअ शर्माले गोकुलगंगा हुँदै उमाकुण्डसम्म जोडन सडकको अनुगमन गरेका छन् । अनुगमनको क्रममा खिम्ती–बेताली सडकको कालोपत्रेको क्रममा नाला निर्माण अन्त्यन्तै कमजोर भएको पाइएको उनले रामेछाप न्युजलाई बताए । उनले भने,‘नाला निर्माण गुणस्तरहिन देखियो, नाला सुधार नगर्ने हो भने सडकको हालत खराब हुने अवस्था देखिएको छ,सम्बन्धित निकायलाई स्थलत अनुगमनको क्रममा पाइएको तथ्य सहितको पत्र लेख्छु ।’

अनुगमनको क्रममा उमाकुण्ड गाउँपालिकाको कालाचौतारादेखि गाउँपालिकाको केन्द्र प्रिति जोडन सडकको काम निकै सुस्त गतिमा भएको पाइएको बताउदै प्रजिअ शर्माले भने,‘थोरै जनशक्तिले मात्र काम गरेको पाइयो, बर्षा अघि नै काम नसक्ने हो भने बर्षाको समयमा गाडी सञ्चालनमै समस्या हुने अवस्था छ ।’

यसअघि प्रजिअ शर्माले मन्थली–भटौली, भटौली पकरवास र गोगनपानी–सित्खा सडकको अनुगमन गरेका थिए । अनुगमनको क्रममा निर्माण व्यवसायीले गुणस्तरहिन काम गरेको पाइएको निष्कर्ष सहित पूर्वाधार कार्यालय मन्थलीलाई तत्काल गुणस्तर सुधारसहितको काम गर्नको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्