पद छाडेर रामेछापमा नेकपा बचाउन लागेको हुँः रोशन पाख्रिन



प्रतिनिधिसभा विघटन भएसँगै नेकपा दुई समुहमा विभाजित हुन पुगेको छ । विभाजनको असर केन्द्रदेखि वडा तहसम्मै पुगेको छ । दुवै समुहले केन्द्र, प्रदेश, स्थायी कमिटी हुँदै वडा कमिटीसम्म समानान्तर भेला र सभा गरिरहेका छन् । नेकपा ओली समुह चुनावी अभियान सहित भेलामा जुटेको छ भने नेकपा प्रचण्ड–नेपाल समुह भने असंवैधानिक प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनमा लागेको छ । दुवै समुहले नेता कार्यकर्तालाई आ–आफ्नो समुहमा तान्ने क्रम चलिरहेको छ ।
रामेछाप नगर कमिटीमा पनि ओली समुहमा रहेका नेता रोशन पाख्रिन अन्तिम समयमा आएर प्रचण्ड–नेपाल समुहमा लागेका छन् । नेकपा ओली समुहले रोशन पाख्रिनलाई रामेछाप नगर कमिटीको अध्यक्षको रुपमा लिएको थियो । गत स्थानीय निर्वाचनमा पूर्व एमालेको तर्र्फबाट नगर प्रमुखमा चुनाव लडेका पाख्रिनथोरै मात्र मतको कारण पराजित हुन पुगेका थिए ।
रामेछाप नगर कमिटीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र शहीद गंगालालको जन्मभूमिबाट पार्टी एकताको सन्देश दिने भन्दै नगर कमिटीको कार्यालयमा रहेको सबै सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती नै जारी गर पार्टी एकता जोगाउने घोषणा गरेका छन् । यसै विषयमा प्रचण्ड–नेपाल रामेछाप नगर कमिटीका कार्यालय सदस्य रोशन पाख्रिनसँग कित्ता परिवर्तन गर्नुको कारणको विषयमा केन्द्रीत भएर रामेछाप न्युजले गरेको विशेष कुराकानीः–

तपाईले त आफ्नो समुह छोडेर प्रचण्ड–नेपाल समुहमा लाग्नु भयो नि ?
–स्वभाविक रुपमा रुपमा मैले समुह परिवर्तन नगरेको भए नगर कमिटीको अध्यक्ष हुन्थे । तर मैले पद भन्दा पनि पार्टी जोगाउन यो निर्णय लिएको हुँ । बलियो घरले मात्र सुरक्षित बनाउन सक्छ । हिजो फरक–फरक विचार समुहमा थियो, पार्टी एकता भयो मिल्यौ । अहिले पार्टी विभाजित भयो, फुट भन्दा फुटने हुँदैन । मैले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्त छोडेको छैन् । अहिलेको अवस्थामा दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको जनमत अनुसार काम गर्नु पर्दथ्यो । संसद विघटन अहिलेको आवश्यकता थिएन । पार्टीमा विवाद थियो । कुन पार्टीभित्र समस्या छैन र ? सबै पार्टीमा समस्या छ । रिस उठयो भन्दैमा घरमा आगो त लगाउनु भएन नि ।

तपाईले दबाबमा परेर कित्ता परिवर्तन गर्नुभयो भन्ने छ नि ?
–म नेकपाको सचेत कार्यकर्ता हुँ । म ठिक र बेठिक छुटयाउन सक्ने क्षमता राख्छु । कसैले दबाब दिएर प्रलोभनमा पारेर निर्णय लिने भन्ने कुरा नै हुन सक्दैन । हरेक व्यक्तिलाई आफ्नो व्यक्तिगत स्वतन्त्रता छ । जहाँ इच्छा लाग्यो त्यो पार्टीमा लाग्न पाउछ । मलाई कसैले दबाब दिएर कित्ता परिवर्तन गरेको होइन ।

त्यसो भए तपाईलाई कित्ता परिवर्तन के बाँध्यता आइलाग्यो त ?
–केन्द्रमा पार्टी एकता भएपछि रामेछाप नगर कमिटीमा पनि दुई पार्टीबीच एकता भयो । यो हाम्रो लागि निकै खुसीको विषय थियो । हामीले टिम बनाएर रामेछाप नगर कमिटीभित्र पार्टीलाई मजबुद्ध बनायो । रामेछाप नगरपालिका पुष्पलाल र गंगालालको जन्मभूमि पनि हो । हामीले रामेछापबाट एकताको सन्देश पनि दिन सक्नु पर्छ भन्ने मलाई लाग्यो । हामीले हाम्रो कार्यकर्ताहरुलाई अहिलेको विषम परिस्थितिमा झन निराश बनाउने होइन, अहिले भएको पार्टीलाई बचाउन पर्छ भनेर नै मैले यो निर्णय लिएको हुँ । आशा छ, रामेछाप नगर कमिटीले दिएको एकताको सन्देश केन्द्रले पनि सुन्नु पर्छ ।

तपाईले भनेजस्तो अब पनि पार्टी एकता होला त ?
–अहिले कुनै विचार सिद्धान्तमा विवाद भएर पार्टी विभाजन भएकै होइन । नितान्त पद र प्रतिष्ठाको लागि पार्टीमा फुट आएको हो । नेताले गर्ने सबै निर्णय सही नहुन सक्छ । नेताहरुले आफ्नो पद र प्रतिष्ठालाई मात्र ख्याल गर्नु भो, वास्तविक अर्थमा कार्यकर्ताको चाहना र भावना बुझने कोशिस नै गर्नु भएन । हामी पार्टीले कार्यक्रम पठाउछ भनेर तीन बर्ष बाटो हेरेर बस्यौ । तर कार्यक्रम आएन पार्टी एकताको सन्देश लिएर नेताहरु आउनु भयो । देश, जनता र कार्यकर्ताको भावना र मर्म अनुसार चल्ने हो पार्टी मिल्नुको विकल्प छैन् । निकै ठूलो त्याग र वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि सग्लो पार्टी भएको हेर्ने हाम्रो चाहना हो ।

तपाईलाई ठूलै प्रलोभनमा परेर समुह परिवर्तन गरेको भन्ने आरोप छ नि ?
–यो आरोपमा कुनै सत्यता छैन् । मैले रामेछापको भूगोल, रामेछाप नगरपालिकाका जनता र पार्टीको कार्यकर्ताको चाहना र भावना अनुसार नै यो निर्णय हुँ । मैले कुनै पनि पद प्रलोभनमा परेर समुह परिवर्तन गरेको होइन । गत स्थानीय तहको निर्वाचनमा पूर्व एमाले र पूर्व माओवादी केन्द्र भिडदा कांग्रेसले जित्यो । हामी नमिल्दाको परिणाम थियो । अहिले हामी मिलेका छौ, फेरि फुटदा रामेछाप नगरपालिकामा कम्युनिष्टले जित्ने अवस्था हुँदैन । हामीले उठाएका एजेण्डा कुनै पनि लागू हुन सक्दैन । त्यसैले मैले नगरपालिकाको भूगोलको तथ्यमा टेकेर जनतालाई धोका नदिन यो निर्णय लिएका हुँ ।

तपाई एक जना प्रचण्ड–नेपाल समुहमा लाग्दैमा पार्टी एक हुन्छ त ?
–हाम्रो चाहना पार्टी एकता नै हो । साथीहरु आफ्नो निर्णय गर्न स्वतन्त्र हुनहुुन्छ । के ठिक के बेठिक भनेर छुटयाउने अवस्थामा साथीहरु हुनुहुन्छ । मेरो एउटै मात्र आग्रह छ–जुट भनेर हामी जुटिसकेका छौ, अब फुट भन्दैमा नफुटौ, सबै मिलेर पार्टीलाई बचाऔ, भोली धेरै पछिसम्म हाम्रो पुस्ताले सम्झियोस । अहिले विभाजित भएर कसैको पनि भविष्य सुरक्षित छैन् । ठूलै रुखमुनि ओत लागौ भन्ने मेरो आग्रह छ ।

पार्टी विभाजन भएसँगै आरोप प्रत्यारोको श्रंखला पनि निकै बढेको छ नि ?
–विचार नमिल्नु, सिद्धान्त नमिल्नु एउटा कुरा हो । यसमा आरोप प्रत्यारोप स्वभाविक मानिन्छ । तर अहिले भिन्न परिस्थितिमा पार्टी विभाजित भएको छ । एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप किन गर्ने ? गाली गलोजको संस्कारले कस्तो कम्युनिष्ट पार्टी बनाउ खोजिरहेका छौ गम्भीर प्रश्न यही हो । यति धेरै उग्र स्वरमा गाली गलोजमा उत्रिन जरुरी छैन् । संसद विघटन असंवैधानिक रुपमा भएपछि विरोध स्वभाविक रुपमा भइरहेको छ र हुन्न नै । अनि यसमा आरोप प्रत्यारोप गर्न जरुरी छ र ? एक पक्षले अर्को पक्षलाई सभ्य भाषामा आफ्नो तर्क प्रस्तुत गरौ न । हिजो दुई पार्टी मिल्छ भन्ने कल्पना गरिएको थिएन, मिल्यो । अहिले विभाजित भएको छ, भोली पार्टी मिल्न पनि सक्छ नि । राजनीति सधै सम्भावनाको खेल हो । त्यसैले एक पक्षले अर्को पक्षलाई भित्तामै पुर्याउने गरी असभ्य भाषामा गाली गलौज नगरौ ।

प्रतिक्रिया दिनुहोस्