जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा जागिर खुल्यो, अनलाइनबाटै दरखास्त दिन मिल्ने



११ माघ, काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिवेक्षक पदमा दरखास्त आह्वान भएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको छ । विभागले करिब ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी गराउदै करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने बताएको छ ।

०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । उनका अनुसार जनगणना विभिन्न प्रविधि अपनाई गरिने छ । मानिसको जनगणनाको अलावा व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपक्षीको समेत जनगणना गरिने भएको छ ।

अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेबसाइटअन्तर्गतको सबडोमेन www.censushrms.cbs.gov.np तथा केन्द्रीय तथ्यांक विभागको वेबसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए । अघिल्लो जनगणनामा भन्दा यसपटक आठवटा बढी आधारभूत प्रश्नहरु राखिएको उनको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८, नेपालको १२औँ जनगणना हो । नेपालमा वि।सं। १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । १२औँ जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्