ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने प्रचण्ड–नेपाल समुहको निर्णय



११ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो । संसद विघटनलगत्तै प्रचण्ड–माधवको नेतृत्वमा नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चुनेको थियो ।

३ माघमा बसेको स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेताहरुले बालुवाटारमा पुगेर स्पष्टीकरण पत्र बुझाएका थिए । तर ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष र वरिष्ठ नेताहरुले संयुक्त संघर्षका लागि भइरहेको पहलबारे ब्रिफिङ गरेका थिए । संयुक्त संघर्षका लागि पहल जारी राख्ने र एक अर्काले चलाएको आन्दोलनलाई पूरकका रुपमा अगाडि बढाउने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्