असंवैधानिक संसद विघटनको कदम सच्याउनु पर्छः नेता श्रेष्ठ



१२ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले असंवैधानिक रुपमा गरिएको संसद विघटनको कदम सच्याउनु पर्ने बताएका छन् । उनले असंवैधानिक कदमको विरुद्ध सशक्त आन्दोलन अगाडि बढाउने बताउदै प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेर धोका दिएको बताए ।

एडिबीको आर्थिक सहयोगमा लिखु तामाकोसी गाउँपालिका-६ को मावि ज्यामिरेको नवनिर्मित विद्यालय भवनको उदघाटन गर्दै पूर्व गृहराज्यमन्त्री समेत रहेका श्रेष्ठले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान नै सिध्याउने खेलमा लागेको बताए । ‘निर्वाचनमा नेकपालाई जनताले दुई तिहाई मत दिएर पठाएका हुन, अहिले पुनः दुई तिहाई मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीलाई छैन’, उनले भने,‘जनताको मतलाई दुरुपयोग गर्नेले फेरि दुई तिहाई मत माग्न मिल्छ ?’

नेकपाप्रति जनताले आशा र भरोषा गरिरहेको बेला प्रधानमन्त्री ओलीले देशकै भविष्य अन्यौलमा पार्ने गरी संसद विघटनको कदम चालेको बताउदै पार्टीले काम गर्न दिएन भन्ने तर्क नै हास्यापद रहेको बताए । पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित गर्न एक ढिक्का भएर समर्थन गरिरहदा पनि उल्टै पार्टीले काम गर्न दिएन भन्नु दिउसै रात पार्ने काम भएको श्रेष्ठले बताए ।
कार्यक्रममा संविधानसभा सदस्य नारानारायण श्रेष्ठ, लिखु तामाकोसी गाउँपालिकाकी उपाधयक्ष दीपशिखा दाहाल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्