आफूले पढेको विद्यालयमा विद्यार्थीसँग कुलमान घिसिङ



१४ माघ, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङ आफैले अध्ययन गरेको विद्यालयमा विद्यार्थीमाझ देखिएका छन् । घिसिङ सुनापती गाउँपालिका–४ बेथानको कुशेश्वर माविमा विद्यार्थीमाझ देखएका हुन् । उज्यालो नेपालका नायकको रुपमा आफ्नो छवि बनाउन सफल घिसिङ केही समय अघि मात्र प्राविकरणको चार बर्षे कार्यालय सफलतापुर्वक सम्पन्न गरेर विदाई भएका थिए ।

लोडसेडिङ हटाएर नागकिरहरुको बीचमा लोकप्रिय बन्न सफल भएका घिसिङ अचानक आफूले अध्ययन गरेको विद्यालयको अवलोकन गर्न पुगेका हुन् । घिसिङले विद्यालयको अवस्था र आगामी योजनाको बारेमा विद्यालयसँग जिज्ञासा राखेको विद्यालयका प्रअ कमानसिंह तामाङले बताए ।
घिसिङले विद्यालयको अनुगमन मात्र नभई कक्षा ९ र १० का विद्यार्थीहरुलाई केही टिप्स पनि दिए । उनले कक्षा ९ का विद्यार्थीहरुले उर्जा क्षेत्रको बारेमा राखेको जिज्ञासको बारेमा जवाफ दिएका थिए । विद्यार्थीहरुले देशमा लोडसेडिङ कसरी हट्यो ? भन्ने जिज्ञासा राखेका थिए । जवाफमा घिसिङले कुनै पनि काममा सफलता हात पार्नको लागि मन बचन र कर्मको साथ जिम्मेवारी पूरा गर्न असम्भव मानिएका काम पनि सफल हुने बताएका छन् ।

प्रअ तामाङका अनुसार घिसिङले कक्षा १० का विद्यार्थीहरुको माझमा भने नैतिक आचारण र बढदो सामाजिक सञ्जालको प्रयोगको बारेमा विद्यार्थीहरुलाई टिप्स दिएका थिए । घिसिङले ठूलो मानिस भन्दा पनि असल मानिस बन्न सक्निु पर्ने बताउदै सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुपर्ने सुझाव दिए । सञ्चार माध्यममा सुन्दै र पढदै आएका घिसिङ अचानक कक्षामा प्रवेश गर्दा विद्यार्थीहरु खुसी भएका थिए । कक्षा ४ र ५ घिसिङले कुशेश्वर माविमा पढेका थिए ।

आफूले अध्ययन गरेको विद्यालयको अवस्थाको बारेमा जानकारी लिएको बताउदै आगामी दिनमा विद्यालयलाई माथि उठाउन भूपु विद्यार्थीको हैसियतमा सक्दो सहयोग गर्ने बताए । उनले भने,‘विद्यालयलाई राम्रो बनाउन सबैले सहयोग गरौ ।’
बागमती प्रदेश सरकारले बेथानको कुशेश्वर माविलाई नमूना विद्यालयको रुपमा छनोट गरेर अहिले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक स्तरउन्नती माथि उठाउने कार्यक्रम सञ्चालन गरेको छ । हाल विद्यालयमा करिब चार सय भन्दा विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालय २०१४ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्