नेता कार्कीको ‘दुसाध्य जनयुद्ध’ सार्वजनिक



१ फागुन, काठमाडौं ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष भूमिका निर्वाह गरेका नेता गंगा कार्कीको संस्मरण सङ्ग्रह ‘दुसाध्य जनयुद्ध’ सार्वजनिक गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार कार्कीद्धारा लिखित पुस्तक विमोचन गरेका हुन् । पुस्तारकमा जनयुद्धकालमा नेपालको पूर्वी क्षेत्रमा रहँदा प्रत्यक्षरुपमा अनुभव गरेका विषयलाई कार्कीले समेटेका छन् ।

नेपालको राजनीतिक आन्दोलनमा माओवादी जनयुद्धले राजनीतिकरुपमा सचेत गराउन खेलेको भूमिका, राजनीतिक परिवर्तन, जनयुद्धमा प्रत्यक्ष संलग्न नेता तथा कार्यकर्ताको अवस्था तथा त्यसले समग्र नेपालमा पारेको प्रभावबारे पुस्तकमा समेट्ने प्रयास गरिएको लेखक कार्कीले बताए ।
नेकपाका नेतासमेत रहनुभएका कार्कीले जनयुद्धले नेपालको राजनीतिमा पारेको प्रभावलाई जीवन्त राख्ने ध्येयका साथ आफूले अनुभूति सङ्ग्रह प्रकाशनमा ल्याएको बताए ।पुस्तकको सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले लामो वलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले जनयुद्धको स्मरणलाई ताजा बनाउने पुस्तक प्रकाशित भएकामा कार्कीलाई बधाई दिए ।

कार्यक्रममा प्रगतिशील साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले सरल भाषामा नेपालको राजनीतिक आन्दोलनमा विशिष्ठ योगदान बनाएको जनयुद्धबारे संस्मरण प्रकाशित भएकामा प्रशन्नता व्यक्त गरे । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलकोसमेत उपस्थिति थियो । साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको सो पुस्तकमा जनयुद्धकालीन संस्मरण समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्