रामेछापको गोकुलगंगा गाउँपालिका मासुमा आत्मनिर्भर



२१ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका मासुमा आत्मनिर्भर बनेको छ । गाउँपालिकाले लिएकाे नीति अनुसार व्यवसायिक रुपमा पशुपन्छी पालन बढेसँगै गाउँपालिका मासुमा आत्मनिर्भर बनेको हो । गोकुलगंगा गाउँपालिका मासुमा आत्मनिर्भर बन्ने रामेछापको पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाभित्र लोकल, बोइलर र लेस कुखुरा पालन बढेको छ ।

गोकुलगंगा गाउँपालिकाका रोजगार संयोजक पर्शुराम कार्कीले गाउँपालिकाभित्र करिब चालिस वटा भन्दा बढी कुखुरा पालनको लागि व्यवसायिक रुपमा फार्म दर्ता भएको रामेछाप न्युजलाई बताए । उनले भने,‘गाउँपालिकाले अगाडि सारेको नीति सफल भएको छ, अहिले मासु र अण्डामा गाउँपालिका आत्मनिर्भर हुँदै निर्यात गर्ने अवस्थामा पुगेको छ ।’

गाउँपालिकाभित्र कुखुरा पालनसँगै व्यवसायिक रुपमा बाख्रा पालन, ट्राउट माछा पालन, बंगुर पालनमा युवाहरु आर्कषित भएका छन् । गाउँपालिकाभित्र नै युवाहरुलाई रोजगारी दिनको लागि गाउँपालिकाले अनुदान सहयोग पनि पनि गर्ने गरेको छ ।

कृषि क्षेत्रमा फडको मारेकाे गाउँपालिकाले मासुजन्य बस्तु निर्यात गर्ने नीति लिएको छ । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गोकुलगंगा गाउँपालिकालाई जिल्लाकै नमूना बनाउने अभियान क्रमश पुरा हुँदै गएको बताए । गाउँपालिकाभित्र आलु र किबी उत्पादन व्यवसायिक रुपमा अगाडि बढेको बताउदै  उनले बाख्रा र कुखुरा पालनबाट कृषकहरुले राम्रो आम्दानी गरिरहेको रामेछाप न्युजलाई बताए ।

गाउपालिकाभित्र उत्पादन हुने कृषिजन्य वस्तु आलु किबी सदरमुकाम मन्थली र राजधानी काठमाडौंमा निर्यात हुने गरेको छ भने खसी बोका, कुखरा र अण्डा मन्थली र उमाकुण्ड गाउँपालिकामा निर्यात हुँदै आएको अध्यक्ष सुनुवारले बताए । दर्ता भएका फार्मको अनुगमन गरेर गाउँपालिकाले अनुदान दिन थालेपछि विदेश जाने युवाहरु समेत गाउँमै व्यवसायिक पशुपालन र कृषि कार्यमा रमाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्