नेकपा दुई समुहमा विभाजित भएपछि रामेछापका प्रमुख/उपप्रमुख को कता ? (सूचीसहित)



२२ फागुन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी दुई समुहमा विभाजित भएसँगै केन्द्रदेखि वडा तहसम्मै विभाजित बन्न पुगेको छ । रामेछापमा पनि जिल्ला कमिटी, गाउँ कमिटी हुँदै त्यसको असर स्थानीय सरकारसम्म पुगेको हो । नेकपाको दुवै समुह प्रचण्ड–नेपाल समुह र ओली समुहले जिल्लाभित्र आ–आफ्नो भेला र सभालाई तीब्रता दिएका छन् ।

जिल्लादेखि वडा तहसम्म दुवै समुहले आफ्नो गतिविधि गदैै आएका छन् । पार्टी दुई समुहमा विभाजित भएपछि नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष फरक–फरक कित्तामा देखिएका छन् । जसको असर स्थानीय सरकार सञ्चालनमा समेत देखिने भएको छ । रामेछापको सुनापती गाउँपालिका अध्यक्ष धावा लामा र उपाध्यक्ष गिता विष्ट, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र उपाध्यक्ष कृशला घिसिङ चारै जना प्रचण्ड–नेपाल समुहमा रहेका छन् ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाको अध्यक्ष प्रेम बहादुर तामाङ ओली समुहमा लागेका छन भने उपाध्यक्ष मखमली श्रेष्ठ भने प्रचण्ड–नेपाल समुहमा लागेकी छिन् । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत प्रचण्ड–नेपाल समुहमा लागेका छन भने उपप्रमुख माया कार्की ओली समुहमा लागेकी छिन् ।

लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल प्रचण्ड–नेपाल समुहमा लागेकी छिन् । अध्यक्ष गोविन्द खड्कालाई नेकपाले यसअघि पार्टीबाट कारवाही गरेकाले नेकपामा छैनन् ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठ दुवै जना ओली समुहमा लागेका छन् । तटस्थ भूमिकामा रहदै आएका अध्यक्ष सुनुवारले केही दिन अघि मात्र ओली समुह गोकुलगंगा गाउँकमिटी बैठकको अध्यक्षता गरेका थिए । पार्टी दुई समुहमा विभाजित हुनु अघि नै सुनुवार नेकपा गोकुलगंगा गाउँकमिटीका अध्यक्ष रहेका थिए ।

त्यसैगरी उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार दुवै समुहले आयोजना गरेको कार्यक्रममा सहभागी भएका छैनन् । परिस्थिति आएपछि आफूले निर्णय लिने बताउदै आएका अध्यक्ष सुनुवारले संसद विघटन गर्ने निर्णयको भने विरोध जनाउदै आएका छन् । अझै पनि पार्टी एकताको सम्भावना नसकिएको बताउदै अध्यक्ष सुनुवारले अहिले पार्टी एकता हुन सक्ने विश्वास बोक्दै आएका छन् । उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष भने गत निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । त्यसैगरी  जिल्लाको रामेछाप नगरपालिकाको प्रमुख र उप्रमुख पनि कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्