ठेकेदारको दादागिरीः सिन्धुलीमा बगिरहेको सुनकोसी नदी रातारात रामेछापतर्फ फर्काइयो



२२ फागुन, रामेछाप ।
सुनकोसी नदीलाई अहिले स्थानीय तहले प्रमुख आम्दानीको स्रोत बनाएका छन् । सुनकोसी नदीसँग सीमाना जोडिएको रामेछापको खाँडादेवी गाउँपालिकाका र सिन्धुलीको सुनकोसी गाउँपालिकाले गिट्टी बालुवा निकाल्न बार्षिक रुपमा ठेक्का नै आह्वान गर्दै आएको छ । स्थानीय तहले मापदण्ड पूरा गरेर गिट्टी बालुवा ठेक्का लगाउने गरेपनि बडाबडमा ठेक्का पाउने कम्पनीले भने सुनकोसी नदीमा बर्षेनी बदमासी गर्दै आएको छ ।
नियम अनुसार नदीभित्र स्काभेटर एवं डोजर लगाएर उत्खनन गर्न पाइदैन । तर नियम विपरीत वालुवा व्यापारीहरुले नदीभित्र नै स्काभेटर प्रयोग गरेर सुनकोसी नदीबाट बालुवा ढुंगा निकाल्दै आएका छन् । धेरै कमाउने होडबाजीमा दिउसोसम्म सिन्धुलीतर्फ बगिरहेको सुनकोसी नदी धारा परिवर्तन गराउदै रामेछापतर्फ फर्काएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–१ स्थिति मझुवा बगर र सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवामा सीमाना रहेको मझुवा बगरमा वालुवा व्यापारीहरुले रातारात नदी नै फर्काइदिएका छन् । नदीको धार परिवर्तन गराएकोप्रति खाँडादेवी गाउँपालिकाले आपत्ति जनाएको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले नियम विपरीत सिन्धुलीतर्फ बगिरहेको नदी रामेछापतर्फ फर्काउने कार्य तत्काल रोक्नु पर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘सबैको नियम कानुन मान्नु पर्छ, सिन्धुलीमा बगिरहेको नदी रातारात फर्काउने कार्य स्वीकार्य छैन, कानुनी उपचार खोज्छौं ।’ उनका अनुसार कानुन विपरीत भएको कार्य तत्काल रोक्नको लागि जिल्ला प्रशासन कार्यालय रामेछापको साथै सिन्धुली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई समेत जानकारी गराइएको छ ।

नदीको धार परिवर्तनको भएको विषयमा बुझन खोज्दा सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरासँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्