प्रशासनलाई चुनौती दिदै सुनकोसी नदी फर्काइयोः वडाअध्यक्ष श्रेष्ठ
२२ फागनु, रामेछाप ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडाअध्यक्ष विष्णु श्रेष्ठले प्रशासनलाई ठाडै चुनौती दिदै सिन्धुलीतर्फ बगिरहेको नदीलाई रामेछापतर्फ फर्काइएको बताए । उनले विगतमाझै यस बर्ष पनि ठेकेदारले बलमिच्याइँ गरेर नदीको धार परिवर्तन गराएको बताए ।
वडाअध्यक्ष श्रेष्ठले रामेछाप न्युजसँग भने,‘सिन्धुलीतर्फ बगिरहेको नदीलाई दुई रातमै रामेछापतर्फ फर्काउने काम भएको छ, ९० प्रतिशत नदी अहिले रामेछापतर्फ बगिरहेको छ ।’ नदीको धार परिवर्तन रोक्नको लागि जिल्ला प्रशासन कार्यालय रामेछाप र सिन्धुलीलाई खबर गरिसकेको बताउदै जिल्ला प्रहरी कार्यालयले नदीको धार परिवर्तनको कार्य रोक्न पहल गर्ने जवाफ दिएको वडाअध्यक्ष श्रेष्ठले बताए ।
सिन्धुलीको सुनकोसी गाउँपालिकाले १ करोड बढी रकममा यस बर्ष बालुवा गिट्टीको ठेक्का सम्झौता गरेको बताइएको छ । वालुवा गिट्टीको ठेक्का पाएको गतिशिल निर्माण सेवा हेटौडाले पाएको थियो । नदी फर्काउन निर्माण सेवाका प्रोपाइटर सुसन चौलागाई र राम बोगटी सक्रिय रहेको स्थानीयले बताएका छन् ।
त्यसैगरी नदीको धार परिवर्तन गराएको विषयमा स्थलगत अनुमगन गर्नको लागि भोली प्रशासनसहित प्रहरीको टोली आउने भएको छ । नदी फर्काएको ठाउँ सिन्धुली र रामेछापको सीमाना मझुवा बगर रहेको छ ।
