२२ बर्षपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी (फोटोफिचर)



२२ फागुन, काठमाडौं ।
करिब २२ बर्षअघिबाट सुरु भएको मेलम्चीको पानी काठमाडौं ल्याउने सपना पूरा भएको छ । आज सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भउका ेहो । मेलम्चीको सुन्दरीजल पानी आइपुगेपछि शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका छन् । उनले उपत्यकावासीको बर्षोदेखिको सपना पूरा भएको बताए ।

मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो ।तीन वटा खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार हाल सुरुङको गेट थुनेर परीक्षण भइरहेको छ । अहिले सानातिना समस्या भएमा तुरुन्त देखिने आयोजनाले जनाएको छ । सुरुङमा समस्या भए÷नभएको भन्ने विस्तृत रुपमा जानकारी सुरुङ भरिएपछि नै थाहा हुने उनले बताए ।

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ को निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । अहिले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको छ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन । बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्