पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै, यस्ताे छ कार्यसूची



२३ फागुन, काठमाडौं ।
पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ । प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबारदेखि शुुरु हुन लागेको हो । संसद बैठक अपराह्न चार बजे बस्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । तर सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् ।यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हुने छ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने छ ।

विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरु पनि पेश हुने छन् । बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरु गरी १४ जनाको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची पनि छ ।

संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्थाप परामर्श समितिको बैठकले टुंगो लगाउने छ । संसद सचिवालयले बैठकको कार्यसूची समेत सार्वजनिक गरिरहेको छ । संसद बैठक पूर्व मन्त्री, सांसद, मर्यादापालक, सुरक्षाकर्मी र संसद सचिवालयका १२ जना भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्